1सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] म परमप्रभुमा शरण लिन्छु, यसर्थ तिमीहरू कसरी मलाई भन्न सक्छौ, “चरोझैँ आफ्नो डाँड़ामा उड़िजा,
2किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझो हृदय भएकाहरूलाई अँध्यारोबाट हान्नलाई तिनीहरूले आफ्नो काँड़ ताँदोमा चढ़ाएका छन्।
3यदि जग नै नष्ट हुन्छन् भने, धर्मी जनले के गर्न सक्छन् र?”
4परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। मानिसका सन्तानलाई उहाँले नियालेर हेर्नुहुन्छ, उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।
5परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ,
6दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ। पिल्स्याउने तातो हावा तिनीहरूको भाग हुनेछ।
7किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।