भजनसंग्रह 115:1-18 NNRV2012 - Bible AI

1हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करुणा र विश्‍वसनीयताको खातिर तपाईंको आफ्‍नै नाउँको महिमा होस्‌।

2जातिहरूले किन यसो भन्‍छन्‌, “तिनीहरूका परमेश्‍वर कहाँ छन्‌?”

3हाम्रा परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ, उहाँले जे चाहनुहुन्‍छ त्‍यही गर्नुहुन्‍छ।

4तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका, सुन र चाँदीका कलाहरू मात्र हुन्‌।

5तिनीहरूका मुख छन्‌, तर बोल्‍न सक्‍दैनन्‌। आँखा छन्‌, तर देख्‍न सक्‍दैनन्‌।

6कान छन्‌, तर सुन्‍न सक्‍दैनन्‌। नाक छन्‌, तर सुँघ्‍‌न सक्‍दैनन्‌।

7हात छन्‌, तर छाम्‍न सक्‍दैनन्‌। खुट्टा छन्‌, तर हिँड्‌न सक्‍दैनन्‌। तिनीहरू आफ्‍ना गलाबाट कुनै आवाजै निकाल्‍न सक्‍दैनन्‌।

8तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्‍तै हुनेछन्‌। र तिनीहरूमाथि भरोसा राख्‍नेहरू पनि सबै उस्‍तै हुनेछन्‌।

9हे इस्राएलको घराना, तिमीले परमप्रभुमा भरोसा राख— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्‍छ।

10हे हारूनको वंश, परमेश्‍वरमा भरोसा राख्‌— तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्‍छ।

11तिमीहरू, जो परमप्रभुको भय मान्‍छौ, उहाँमा भरोसा राख: तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्‍छ।

12परमप्रभुले हामीलाई सम्‍झनुहुन्‍छ, र हामीलाई आशीर्वाद दिनुहुनेछ। उहाँले इस्राएलको घरानालाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनको वंशलाई आशीर्वाद दिनुहुनेछ।

13ठूला र साना दुवै परमप्रभुका भय मान्‍नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ।

14परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्‌, तिमीहरू र तिमीहरूका सन्‍तानलाई।

15स्‍वर्ग र पृथ्‍वी सृजनुहुने परमप्रभुबाट तिमीहरूलाई आशिष्‌ मिलोस्‌।

16सर्वोच्‍च स्‍वर्ग त परमप्रभुकै हो, तर पृथ्‍वीचाहिँ उहाँले मानिस-जातिलाई प्रदान गर्नुभएको छ।

17मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्‌, मृत-लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌।

18तर हामी त अहिले र सदासर्वदा परमप्रभुको स्‍तुति गर्दछौं। परमप्रभुको प्रशंसा गर!

e>