भजनसंग्रह 119:1-176 NNRV2012 - Bible AI

1धन्‍यका हुन्‌ तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्‍यवस्‍थामा चल्‍दछन्‌।

2धन्‍यका हुन्‌ तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्‌, र उहाँलाई सम्‍पूर्ण हृदयले खोज्‍दछन्‌।

3तिनीहरूले कुनै अधर्म गर्दैनन्‌, उहाँका मार्गमा तिनीहरू हिँड्‌दछन्‌।

4तपाईंले आदेशहरू यस हेतुले दिनुभयो, कि हामी तिनलाई पूरा-पूरा पालन गरौं।

5तपाईंका विधिहरू पालन गर्नलाई, मेरो आचरण दृढ़ भइदिए कति असल हुनेथियो!

6तब तपाईंका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्नेथिइनँ।

7जब म तपाईंका धार्मिक नियमहरू सिक्‍तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु।

8म तपाईंका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्‍याग्‍नुहोस्‌।

9जवान मानिसले आफ्‍नो चालचलन कसरी चोखो राख्‍न सक्‍छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।

10म आफ्‍नो सम्‍पूर्ण हृदयले तपाईंलाई खोज्‍छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्‌।

11तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।

12हे परमप्रभु, तपाईंको प्रशंसा होस्‌, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌।

13मैले मेरा ओठले तपाईंको मुखबाट निस्‍केका सबै नियमहरूको वर्णन गरेको छु।

14धेरै धन-सम्‍पत्तिमा आनन्‍दित हुने मानिसजस्‍तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्‍छु।

15तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्‍यान दिनेछु।

16म तपाईंका विधिहरूमा आनन्‍द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।

17आफ्‍नो दासको उपकार गर्नुहोस्‌, र म जीवित रहनेछु, र तपाईंको वचन पालन गर्नेछु।

18मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाका उदेकका कुराहरू देख्‍न सकूँ।

19म त पृथ्‍वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्‌।

20तपाईंका नियमहरू जान्‍नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्‍छ।

21तपाईं अहङ्कारीहरूलाई हप्‍काउनुहुन्‍छ, जो श्रापित छन्‌, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्‌छन्‌।

22गिल्‍ला र लाञ्‍छना मबाट हटाइदिनुहोस्‌, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु।

23शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्‌, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ।

24तपाईंका कानूनहरू मेरो आनन्‍द हुन्‌, ती मेरा सल्‍लाहकार हुन्‌।

25मेरो प्राण धूलोमा मिलेको छ, आफ्‍नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्‌।

26मैले आफ्‍नो आचरण तपाईंलाई खुलस्‍त गरिदिएँ, र तपाईंले जवाफ दिनुभयो। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌।

27तपाईंका आदेशहरूका शिक्षा म बुझ्‍न सकूँ। तब तपाईंका उदेकका कामहरूमाथि म मनन गर्नेछु।

28शोकले गर्दा मेरो प्राण पग्‍लन्‍छ, तपाईंको वचनअनुसार मलाई बलियो तुल्‍याउनुहोस्‌।

29छलपूर्ण मार्गबाट मलाई अलग्‍ग राखिदिनुहोस्‌, तपाईंको व्‍यवस्‍थाद्वारा ममाथि अनुग्रही हुनुहोस्‌।

30मैले त सत्‍यताको मार्ग छानेको छु, तपाईंका नियमहरू मैले मेरो सामुन्‍ने राखेको छु।

31तपाईंका कानूनहरूमा म स्‍थिर रहन्‍छु, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्‌।

32म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्‍छु, किनकि तपाईंले मेरो हृदयलाई स्‍वतन्‍त्र पारिदिनुभएको छ।

33हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्‌, र अन्‍त्‍यसम्‍म म ती पालन गर्नेछु।

34मलाई समझशक्ति दिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाअनुसार चल्‍नेछु, अनि सम्‍पूर्ण हृदयले त्‍यो पालन गर्नेछु।

35तपाईंका आज्ञाहरूको मार्गमा मलाई चलाउनुहोस्‌, किनकि त्‍यसैमा म हर्षित हुन्‍छु।

36मेरो हृदयलाई तपाईंका कानूनतिर फर्काउनुहोस्‌, स्‍वार्थपूर्ण लाभतिर होइन।

37व्‍यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्‌, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।

38तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्‌, र तपाईंको भय मानिओस्‌।

39जुन अपमानबाट म डराउँछु, त्‍यो मबाट हटाइदिनुहोस्‌, किनकि तपाईंका नियमहरू उत्तम छन्‌।

40हेर्नुहोस्‌, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।

41हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्‌, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्‌।

42तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्‍नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्‍तछु।

43सत्‍यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्‌, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु।

44म तपाईंको व्‍यवस्‍था सदासर्वदा पालन गर्नेछु।

45म स्‍वतन्‍त्र भएर हिँड्‌नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु।

46म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्‍नेछु, अनि म लाजमा पर्नेछैनँ।

47म तपाईंका आज्ञाहरूमा आनन्‍दमग्‍न हुन्‍छु, किनकि म तिनलाई प्रेम गर्दछु।

48मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पसार्छु, र तपाईंका विधिहरूमाथि मनन गर्दछु।

49आफ्‍नो दासलाई दिनुभएको वचन सम्‍झना राख्‍नुहोस्‌, किनकि तपाईंले मलाई आशा प्रदान गर्नुभएको छ।

50मेरो सङ्कष्‍टमा मेरो सान्‍त्‍वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्‍तछ।

51अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्‌, तर तपाईंको व्‍यवस्‍थाबाट म हटेको छैनँ।

52तपाईंका पुराना नियमहरू म स्‍मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्‍त्‍वना पाउँछु।

53तपाईंको व्‍यवस्‍था त्‍याग्‍ने दुष्‍टहरूले गर्दा, मलाई आक्रोशले अँठ्याएको छ।

54म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्‍तु भएका छन्‌।

55हे परमप्रभु, म राती तपाईंका नाउँको स्‍मरण गर्दछु, अनि तपाईंको व्‍यवस्‍था म पालन गर्नेछु।

56यो मेरो चलन हुन गएको छ, म तपाईंका आदेशहरू पालन गर्छु।

57तपाईं मेरो भाग हुनुहुन्‍छ, हे परमप्रभु, तपाईंका वचनहरू पालन गर्ने, मैले प्रतिज्ञा गरेको छु।

58मैले सम्‍पूर्ण हृदयले तपाईंका मुहारको खोजी गरेको छु, तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌।

59मैले आफ्‍नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्‍ना कदम चालेको छु।

60म ढिलो गर्दिनँ, बरु तपाईंका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु।

61दुष्‍टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्‍यवस्‍थालाई बिर्सनेछैनँ।

62तपाईंका धार्मिक नियमहरूका खातिर मध्‍यरातमा तपाईंमा धन्‍यवाद चढ़ाउन उठ्छु।

63तपाईंको भय मान्‍नेहरू र तपाईंका आदेश पालन गर्नेहरू सबैका म एक साथी हुँ।

64हे परमप्रभु, तपाईंको प्रेमले पृथ्‍वी परिपूर्ण छ, मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌।

65हे परमप्रभु, तपाईंले आफ्‍नो वचनअनुसार आफ्‍नो दासको उपकार गर्नुहोस्‌।

66मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्‌, किनकि म तपाईंका आज्ञामाथि विश्‍वास राख्‍तछु।

67म कष्‍टित हुनुभन्‍दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईंको वचन पालन गर्दछु।

68तपाईं भलो हुनुहुन्‍छ अनि भलाइ गर्नुहुन्‍छ। मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌।

69अहङ्कारीहरूले मेरो विरुद्धमा झूटा कुरा रचेका भए तापनि म सम्‍पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु।

70तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्‌, तर म तपाईंको व्‍यवस्‍थामा हर्षित हुन्‍छु।

71ममाथि क्‍लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईंका विधिहरू सिक्‍न सकूँ।

72तपाईंको मुखबाट निस्‍केको व्‍यवस्‍था मेरो निम्‍ति सुन र चाँदीका हजारौँ टुक्राभन्‍दा मूल्‍यवान्‌ छ।

73तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्‍ने समझशक्ति मलाई दिनुहोस्‌।

74तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्‌, किनभने म तपाईंको वचनमा भर पर्दछु।

75हे परमप्रभु, तपाईंका नियमहरू धार्मिक छन्‌, अनि आफ्‍नो विश्‍वसनीयतामा तपाईंले मलाई दु:ख दिनुभएको छ भनी म जान्‍दछु।

76तपाईंको अचूक कृपा मेरो निम्‍ति सान्‍त्‍वना होस्‌, यो आफ्‍नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्‌।

77तपाईंको करुणा ममाथि रहोस्‌, र म जीवित रहूँ, किनकि तपाईंको व्‍यवस्‍था मेरो आनन्‍द हो।

78अहङ्कारीहरू शर्ममा परून्‌, किनकि अकारण तिनीहरूले मलाई हानि पुर्‍याउँछन्‌। तर म तपाईंको आदेशहरूमाथि ध्‍यान गर्नेछु।

79तपाईंको भय मान्‍नेहरू र तपाईंका कानून बुझ्‍नेहरू मतर्फ फर्कून्‌।

80तपाईंका आज्ञाहरूप्रति म निष्‍खोट रहन सकूँ, र मलाई लज्‍जित हुन नपरोस्‌।

81मेरो प्राण तपाईंको उद्धार प्राप्‍त गर्नलाई व्‍याकुल छ, तर मैले तपाईंको वचनमाथि आशा राखेको छु।

82तपाईंका प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखा धमिला भइसकेका छन्‌। म भन्‍दछु, “तपाईंले मलाई कहिले सान्‍त्‍वना दिनुहुन्‍छ?”

83धूवाँमा राख्‍दाराख्‍दा खुम्‍चिएको दाखमद्यको मशकजस्‍तो म भइसकेको छु, तापनि तपाईंका विधिहरू मैले बिर्सेको छैनँ।

84तपाईंको दासले अझ कति पर्खनुपर्छ? मलाई सताउनेहरूलाई कहिले दण्‍ड दिनुहुन्‍छ?

85तपाईंका व्‍यवस्‍थाको विपरीत अहङ्कारीहरूले मेरो निम्‍ति खाड़ल खनेका छन्‌।

86तपाईंका आज्ञाहरू सबै भरपर्दा छन्‌। मेरो मदत गर्नुहोस्‌, मानिसहरूले अकारण मलाई सताउँछन्‌।

87तिनीहरूले मलाई धरतीबाट प्राय: नाश गरे, तर मैले तपाईंका आदेशहरू त्‍यागेको छैनँ।

88तपाईंको करुणाअनुसार मेरो प्राणको रक्षा गर्नुहोस्‌, र म तपाईंका मुखबाट निस्‍केका कानूनहरू पालन गर्नेछु।

89हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्‍त छ, आकाशमा त्‍यो स्‍थिर रहन्‍छ।

90तपाईंको विश्‍वसनीयता सबै पुस्‍तासम्‍म रहन्‍छ। तपाईंले पृथ्‍वी स्‍थापित गर्नुभयो, अनि त्‍यो स्‍थिर छ।

91तपाईंका विधानहरू आजको दिनसम्‍म स्‍थिर छन्‌, किनकि सबै थोकले तपाईंको सेवा गर्छन्‌।

92तपाईंको व्‍यवस्‍था मेरो निम्‍ति आनन्‍द नहुँदो हो त, म आफ्‍नो कष्‍टमा नष्‍ट भइसक्‍नेथिएँ।

93तपाईंका आदेशहरू म कहिल्‍यै बिर्सनेछैनँ। किनकि तपाईंले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्‍नुभएको छ।

94मलाई बचाउनुहोस्‌, किनकि म तपाईंकै हुँ। मैले तपाईंका आदेशहरूको खोजी गरेको छु।

95दुष्‍टहरू मलाई नाश गर्न ढुकिबसेका छन्‌। तर म त तपाईंका कानूनहरूमा ध्‍यान दिनेछु।

96सिद्ध थोकहरूको पनि सीमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू असीमित छन्‌।

97आहा! तपाईंको व्‍यवस्‍थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु।

98तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्‌, र तिनले मेरा शत्रुहरूभन्‍दा मलाई बुद्धिमान्‌ तुल्‍याउँछन्‌।

99मेरा सबै शिक्षकहरूभन्‍दा मेरो अन्‍तर्ज्ञान ज्‍यादा छ, किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु।

100धर्म-गुरुहरूको भन्‍दा मेरो समझ अझ बढ़ी छ, किनभने म तपाईंका आदेशहरू पालन गर्दछु।

101तपाईंको वचन पालन गरूँ भनेर, मैले आफ्‍ना गोडालाई हरेक खराब मार्गबाट अलग्‍ग राखेको छु।

102तपाईंका नियमहरूबाट म तर्केको छैनँ, किनकि तपाईंले नै मलाई सिकाउनुभएको छ।

103तपाईंका वचनहरू मेरो जिब्रोमा अति स्‍वादिष्‍ठ छन्‌, महभन्‍दा पनि मेरो मुखमा ती बढ़ी मीठा छन्‌।

104तपाईंको आदेशहरूद्वारा म समझशक्ति प्राप्‍त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु।

105तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

106मैले यो शपथ खाएर दृढ़ सङ्कल्‍प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु।

107म ज्‍यादै पीडित भएको छु, हे परमप्रभु, आफ्‍नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्‌।

108हे परमप्रभु, मेरो मुखबाट स्‍वेच्‍छाले निस्‍केको स्‍तुति-प्रशंसा ग्रहण गर्नुहोस्‌, र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्‌।

109मेरो प्राण निरन्‍तर जोखिममा रहन्‍छ, तापनि म तपाईंको व्‍यवस्‍था बिर्सन्‍नँ।

110दुष्‍टहरूले मेरो निम्‍ति पासो थापेका छन्‌, तर तपाईंका आदेशहरूबाट म बरालिएको छैनँ।

111तपाईंका कानूनहरू सदाकालको निम्‍ति मेरा मूल्‍यवान्‌ सम्‍पत्ति भएका छन्‌। तिनले मेरो हृदयलाई हर्षित तुल्‍याउँछन्‌।

112तपाईंका विधिहरू एकदमै अन्‍त्‍यसम्‍म पालन गर्न मैले अठोट गरेको छु।

113दोहोरो मन भएका मानिसलाई म घृणा गर्दछु, तर तपाईंको व्‍यवस्‍थासँग म प्रेम राख्‍तछु।

114तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ, मैले तपाईंको वचनमा भरोसा राखेको छु।

115हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्‍वरका आज्ञाहरू म पालन गर्न सकूँ।

116तपाईंको प्रतिज्ञाअनुसार मलाई थामिराख्‍नुहोस्‌, र म जीवित रहूँ, र मेरा आशाहरू चकनाचूर हुन नदिनुहोस्‌।

117मलाई थाम्‍नुहोस्‌ र म बाँच्‍नेछु। तपाईंका विधिहरूलाई म निरन्‍तर आदर गर्नेछु।

118तपाईंका विधिहरूबाट बरालिनेहरूलाई तपाईंले इन्‍कार गर्नुहुन्‍छ, किनकि तिनीहरूको छल व्‍यर्थको ठहर्छ।

119पृथ्‍वीका सबै दुष्‍टहरूलाई तपाईंले फोहोरझैँ फालिदिनुहुन्‍छ। यसकारण तपाईंका कानूनहरूलाई म प्रेम गर्दछु।

120तपाईंको भयमा मेरो शरीर काम्‍दछ, तपाईंका नियमहरूले म भयभीत हुन्‍छु।

121मैले धार्मिक र न्‍यायपूर्ण आचरण पालन गरेको छु, मेरा अत्‍याचारीहरूका हातमा मलाई नछोड्‌नुहोस्‌।

122आफ्‍नो दासका भलाइको जिम्‍मा तपाईंले लिनुहोस्‌, अहङ्कारीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्‌।

123तपाईंको उद्धार र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दा, मेरा आँखा धमिला भइसकेका छन्‌।

124तपाईंको कृपाअनुसार आफ्‍नो दाससँग व्‍यवहार गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌।

125म तपाईंको दास हुँ, मलाई विवेक दिनुहोस्‌, र तपाईंका कानूनहरू म बुझ्‍न सकूँ।

126हे परमप्रभु, तपाईंले अब कार्य गर्ने बेला भएको छ, तपाईंको व्‍यवस्‍था भङ्ग हुँदैछ।

127मैले तपाईंका आज्ञाहरूलाई सुन र निखुर सुनभन्‍दा पनि बढ़ी प्रेम गरेको,

128अनि तपाईंका सबै आदेशहरूलाई सत्‍य ठानेको कारणले, हरेक झूटो शिक्षालाई म घृणा गर्दछु।

129तपाईंका कानूनहरू आश्‍चर्यपूर्ण छन्‌, यसकारण म सारा हृदयले ती पालन गर्दछु।

130तपाईंका वचनको व्‍याख्‍याले ज्‍योति प्रदान गर्छ, त्‍यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्‍छ।

131म आफ्‍नो मुख खोल्‍छु, र तृष्‍णा गर्दछु, किनकि म तपाईंका आज्ञाहरूको प्‍यासी छु।

132मतिर फर्कनुहोस्‌ र ममाथि दया गर्नुहोस्‌, जसरी तपाईंको नाउँसँग प्रेम गर्नेहरूलाई तपाईं दया गर्नुहुन्‍छ।

133तपाईंको वचनअनुसार मेरा पाइलाहरू स्‍थिर गरिदिनुहोस्‌, र कुनै पापले ममाथि राज्‍य गर्न नपाओस्‌।

134मानिसहरूको थिचोमिचोबाट मलाई मोल तिरेर छुटकारा दिनुहोस्‌, र म तपाईंका आदेशहरू पालन गर्न सकूँ।

135तपाईंको दासमाथि आफ्‍नो मुहार प्रकाशित गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌।

136मेरा आँखाबाट आँसुका धारा बग्‍छन्‌, किनभने तपाईंको व्‍यवस्‍था पालन गरिँदैन।

137हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, र तपाईंका नियमहरू सत्‍य छन्‌।

138तपाईंले राखिदिनुभएका कानूनहरू धार्मिक छन्‌, तिनीहरू पूर्ण रूपले भरपर्दा छन्‌।

139मेरो जोशले मलाई खाइसकेको छ, किनभने मेरा शत्रुहरूले तपाईंका वचनहरूको बेवास्‍ता गर्छन्‌।

140तपाईंका प्रतिज्ञाहरू पूर्ण रूपले जाँचिएका छन्‌, र तपाईंको दासले तिनलाई प्रेम गर्छ।

141म क्षुद्र र तुच्‍छ छु, तापनि म तपाईंका आदेशहरू बिर्सन्‍नँ।

142तपाईंको धार्मिकता चिरस्‍थायी छ, अनि तपाईंको व्‍यवस्‍था सत्‍य छ।

143दु:ख र सङ्कष्‍ट ममाथि परिआएको छ, तर तपाईंका आज्ञाहरू मेरो निम्‍ति हर्षका कुरा छन्‌।

144तपाईंका कानूनहरू सदाकालको निम्‍ति सत्‍य छन्‌, मलाई समझशक्ति दिनुहोस्‌, र म जीवित रहन सकूँ।

145आफ्‍नो पूरा हृदयले म तपाईंलाई पुकार्दछु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्‌, र तपाईंका विधिहरू म पालन गर्नेछु।

146म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्‌, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु।

147म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु।

148तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्‍छन्‌।

149तपाईंको करुणाअनुसार मेरो सोर सुनिदिनुहोस्‌, हे परमप्रभु, तपाईंका नियमअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।

150कुचेष्‍टा रच्‍ने दुष्‍टहरू नजिक आइसकेका छन्‌, तर तिनीहरू तपाईंको व्‍यवस्‍थाबाट टाढ़ा छन्‌।

151तर हे परमप्रभु, तपाईं नजिकै हुनुहुन्‍छ, र तपाईंका सबै आज्ञाहरू सत्‍य छन्‌।

152अतीतदेखि नै तपाईंका कानूनहरूबाट मैले सिकें, कि तपाईंले तिनीहरूलाई सदासर्वदा रहून्‌ भनी स्‍थापना गर्नुभयो।

153मेरो दु:खलाई विचार गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, किनकि तपाईंको व्‍यवस्‍था मैले बिर्सेको छैनँ।

154मेरो पक्षमा निर्णय दिनुहोस्‌, र मलाई छुटाउनुहोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मेरो प्राणलाई सुरक्षा गर्नुहोस्‌।

155दुष्‍टहरूबाट उद्धार टाढ़ा छ, किनकि तिनीहरूले तपाईंका विधिहरूको खोजी गर्दैनन्‌।

156हे परमप्रभु, तपाईंको दया-दृष्‍टि अति महान्‌ छ, तपाईंका नियमहरूअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।

157मलाई सताउने शत्रुहरू अनेक छन्‌, तापनि तपाईंका कानूनहरूबाट म तर्केको छैनँ।

158विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्‌।

159हेर्नुहोस्‌, म कसरी तपाईंका आदेशहरूलाई प्रेम गर्दछु, हे परमप्रभु, तपाईंको करुणाअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌।

160तपाईंका सम्‍पूर्ण वचनहरू सत्‍य छन्‌, र तपाईंका सबै धार्मिक नियमहरू अनन्‍तका छन्‌।

161शासकहरूले अकारण मलाई सताउँछन्‌, तर मेरो हृदयले तपाईंका वचनको भय मान्‍दछ।

162जसरी लूटको ठूलो धन पाउने व्‍यक्ति रमाउँछ, म तपाईंको प्रतिज्ञामा हर्षित हुन्‍छु।

163झूटलाई म घृणा गर्छु, र तुच्‍छ ठान्‍छु, तर तपाईंको व्‍यवस्‍थालाई म प्रेम गर्दछु।

164तपाईंका धार्मिक नियमहरूका निम्‍ति दिनमा सात चोटि म तपाईंको प्रशंसा गर्दछु।

165तपाईंको व्‍यवस्‍थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्‍ति हुन्‍छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन।

166हे परमप्रभु, तपाईंका उद्धारको म प्रतीक्षा गर्छु, र तपाईंका आज्ञाहरू पालन गर्दछु।

167तपाईंका कानूनहरू पालन गर्दछु, किनभने म तिनलाई अत्‍यन्‍तै प्रेम गर्दछु।

168म तपाईंका आदेशहरू र कानूनहरू पालन गर्दछु, किनकि मेरा सबै आचरण तपाईंकै सामु प्रष्‍ट छन्‌।

169हे परमप्रभु, मेरो पुकारा तपाईंको सामु पुगोस्‌, तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्‌।

170मेरो नम्र-निवेदन तपाईंको सामुन्‍ने पुगोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्‌।

171मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्‌, किनकि तपाईंले आफ्‍ना विधिहरू मलाई सिकाउनुहुन्‍छ।

172मेरो जिब्रोले तपाईंका वचनको भजन गाओस्‌, किनकि तपाईंका सबै आज्ञाहरू धर्ममय छन्‌।

173तपाईंको बाहुली मलाई मदत गर्न तत्‍पर रहोस्‌, किनकि तपाईंका आदेशहरूलाई मैले चुनेको छु।

174हे परमप्रभु, म तपाईंका उद्धारको तृष्‍णा राख्‍छु, र तपाईंको व्‍यवस्‍था मेरो खुशीयाली हो।

175म जीवित रहूँ, र तपाईंको प्रशंसा गर्न सकूँ, र तपाईंका नियमहरूले मलाई थामून्‌।

176हराएको भेड़ाजस्‍तो म बरालिएको छु, आफ्‍नो दासलाई खोज्‍नुहोस्‌, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।

le>