1सङ्गीत निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमप्रभु, दुष्ट मानिसबाट मलाई छुटाउनुहोस्। हिंसक मानिसहरूबाट मलाई रक्षा गरिदिनुहोस्।
2तिनीहरू आफ्ना हृदयमा दुष्ट युक्ति रच्छन्, अनि प्रतिदिन युद्ध मच्चाउँछन्।
3तिनीहरूले आफ्नो जिब्रो सर्पको जत्तिकै विषालु बनाउँछन्, ⓖ तिनीहरूका मुखमा भयङ्कर सर्पको विष हुन्छ।
4हे परमप्रभु, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, हिंसक मानिसबाट मलाई रक्षा गर्नुहोस्, जसले मेरा खुट्टामा ठेस लगाइदिने युक्ति रच्छन्।
5घमण्डी मानिसहरूले मेरो निम्ति पासो थापेका छन्, तिनीहरूले आफ्नो जालका डोरी फैलाएका छन्, अनि मेरो मार्गमा तिनीहरूले धराप थापेका छन्।
5सेला
6हे परमप्रभु, म तपाईंलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ,” हे परमेश्वर, मेरो दयाको पुकारा सुनिदिनुहोस्।
7हे परमप्रभु परमेश्वर, मेरा शक्तिशाली उद्धारक, लड़ाइँको दिनमा तपाईंले मेरो शिरको रक्षा गरिदिनुहुन्छ।
8हे परमप्रभु, दुष्टहरूका इच्छा पूरा हुन नदिनुहोस्, तिनीहरूका युक्ति सफल हुन नदिनुहोस्, नत्रता तिनीहरू घमण्डी हुनेछन्।
8सेला
9मलाई चारैतिर घेर्नेहरूका शिर, तिनीहरूका ओठले गरेका उपद्रवले ढाकिऊन्।
10जलिरहेका फिलिङ्गा तिनीहरूमाथि ओइरिऊन्, बल्दो आगोमा तिनीहरू फालिऊन्, र उठ्नै नसक्ने गरी तिनीहरू दलदले खाल्डामा परून्।
11निन्दा गर्नेहरू पृथ्वीमा स्थापित नहोऊन्, हिंसक मानिस चाँड़ै विनाशको शिकार बनोस्।
12म जान्दछु, कि परमप्रभुले निर्धनहरूका पक्षमा निर्णय दिनुहुन्छ, र दरिद्रहरूका पक्षको रक्षा गरिदिनुहुन्छ।
13निश्चय नै धर्मीहरूले तपाईंका नाउँको प्रशंसा गर्नेछन्, अनि सदाचारी तपाईंको अगि वास गर्नेछन्।