1ⓘ गुफामा हुँदा दाऊदको मस्किल [1] उच्च सोरले म परमप्रभुलाई पुकार्छु, दयाको निम्ति परमप्रभुमा म आफ्नो आवाज उचाल्छु।
2उहाँको समक्ष म आफ्नो उजूर टक्र्याउँछु, उहाँमा नै म आफ्नो दु:ख पोखाउँछु।
3जब मेरो आत्मा मभित्र शिथिल हुन्छ, तपाईं नै हुनुहुन्छ जसले मेरो बाटो जान्नुहुन्छ। म हिँड्ने बाटोमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
4मेरो दाहिनेतिर दृष्टिपात गर्नुहोस्, मेरो फिक्री गर्ने कोही पनि छैन। मेरो शरणस्थान कहीँ छैन। कसैले मेरो वास्ता गर्दैन।
5हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु। म भन्छु, “तपाईं मेरो शरणस्थान, र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ।”
6मेरो पुकारा सुनिदिनुहोस्, किनकि म ठूलो अभावमा परेको छु। मलाई खेद्नेहरूबाट बचाउनुहोस्, किनकि तिनीहरू मेरो निम्ति साह्रै बलिया छन्।
7मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्, र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्।