1दाऊदको भजन [1] हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्, दयाको लागि मैले गरेको पुकारा सुनिदिनुहोस्। तपाईंको विश्वसनीयता र धार्मिकतामा मलाई सहायता दिनुहोस्।
2आफ्नो दासलाई इन्साफमा नल्याउनुहोस्, ⓙ किनकि तपाईंको सामुन्ने कुनै पनि जीवित मानिस धर्मी ठहरिँदैन।
3शत्रुले मेरो खेदो गर्दछ, त्यसले मलाई जमिनमा लड़ाएर कुल्चन्छ। धेरै अघि मारिसकेकाहरूजस्तै गरी त्यसले मलाई अन्धकारमा बस्न बाध्य पार्दछ।
4यसकारण मेरो आत्मा मभित्र शिथिल हुन्छ, र मेरो हृदय मभित्रै त्रसित भएको छ।
5म अतीतका दिनहरू स्मरण गर्दछु, र तपाईंका सबै कार्यहरूमा मनन गर्दछु, अनि तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।
6म मेरा हात तपाईंतिर पसार्दछु, बाँझो जमिनझैँ मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ।
6सेला
7हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्, मेरो आत्मा शिथिल हुन्छ। आफ्नो मुहार मबाट नलुकाउनुहोस् नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु।
8प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्याओस्, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्नुपर्ने हो त्यो मलाई सिकाउनुहोस्, किनकि मेरो आत्मा म तपाईंतिर उचाल्दछु।
9हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु।
10तपाईंको इच्छा पूर्ण गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंका भलो आत्माले मलाई सोझो बाटोमा डोर्याऊन्।
11हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो प्राणको सुरक्षा गरिदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई विपद्बाट मुक्त गरिदिनुहोस्।
12तपाईंको अचूक कृपामा मेरा शत्रुहरूलाई सर्वनाश पार्नुहोस्, र मेरा सबै शत्रुहरूलाई नाश गरिदिनुहोस्, किनकि म तपाईंको दास हुँ।