भजनसंग्रह 145:1-21 NNRV2012 - Bible AI

1दाऊदको भजन [1] हे परमेश्‍वर मेरा राजा, म तपाईंको नाउँ उच्‍च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु।

2प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्‍तुति गर्नेछु,

3परमप्रभु महान्‌ हुनुहुन्‍छ र प्रशंसाको अति योग्‍य, र उहाँको महानता अगम छ।

4एक पुस्‍ताले अर्को पुस्‍तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्‌।

5तिनीहरूले तपाईंको ऐश्‍वर्य र तेजस्‍वी वैभवको वर्णन गर्नेछन्‌, र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमाथि चिन्‍तन गर्नेछु।

6मानिसहरूले तपाईंको महान्‌ कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्‌, र म तपाईंका महान्‌ कार्यहरूको घोषणा गर्नेछु।

7तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्‍द मनाउनेछन्‌, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्‌।

8परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्‍छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्‍छ।

9परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ।

10तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्‌, र तपाईंका पवित्रजनहरूले तपाईंको स्‍तुति गर्नेछन्‌।

11तिनीहरूले तपाईंको राज्‍यका महिमाको चर्चा गर्नेछन्‌ र तपाईंका शक्तिको बखान गर्नेछन्‌,

12कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्‌, अनि तपाईंका राज्‍यको महिमापूर्ण वैभव देखून्‌।

13तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्‍छ।

14लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्‍छ।

15सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्‌, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्‍छ।

16तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्‍छ, र सबै प्राणीहरूका मनोरथ सन्‍तुष्‍ट पार्नुहुन्‍छ।

17परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्‍छ।

18परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्‍छ, सबैका नजिक ज-जसले उहाँलाई सत्‍यतामा पुकार्दछन्‌।

19उहाँको भय मान्‍नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ, र तिनीहरूलाई बचाउनुहुन्‍छ।

20उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर सबै दुष्‍टहरूलाई उहाँले नाश गर्नुहुनेछ।

21मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्‍नेछ। प्रत्‍येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्‌।

e>