1हल्लेलूयाह! हाम्रा परमेश्वरको प्रशंसा गाउनु कति असल कुरा हो! उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ!
2परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्छ।
3उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ।
4उहाँले ताराहरूको संख्या निश्चित गर्नुहुन्छ, र एक-एकलाई आ-आफ्नो नाउँ दिनुहुन्छ।
5हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सर्वशक्तिमान् र सर्वज्ञानी हुनुहुन्छ।
6परमप्रभुले दीन-दु:खीलाई सम्हाल्नुहुन्छ, तर दुष्टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्छ।
7धन्यवादका साथ परमप्रभुको स्तुति गाओ, वीणा बजाएर हाम्रा परमेश्वरको स्तुति गर।
8उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ, अनि पहाड़हरूमा घाँस उमार्नुहुन्छ।
9उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्छ।
10उहाँ घोडाहरूको बलमा, अथवा मानिसहरूका खुट्टामा प्रसन्न हुनुहुन्न।
11तर परमप्रभु उहाँको भय मान्नेहरूसँग, र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ।
12हे यरूशलेम, परमप्रभुको स्तुति गा! हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर्!
13किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष् दिनुहुन्छ।
14उहाँले तेरा साँध-सिमानामा शान्ति स्थापित गरिदिनुहुन्छ, उहाँले तँलाई असल गहूँले तृप्त पार्नुहुन्छ।
15उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौड़न्छ।
16उहाँले ऊनजस्तै गरी हिमपात गराउनुहुन्छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्छ।
17उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्न सक्छ?
18उहाँले आफ्नो वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ, उहाँले आफ्नो बतास चलाउनुहुन्छ र पानी बग्न थाल्छ।
19उहाँले आफ्नो वचन याकूबलाई, र आफ्ना नियम र विधिहरू इस्राएललाई देखाउनुभएको छ।
20अरू कुनै जातिको निम्ति उहाँले यस्तो कार्य गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। हल्लेलूयाह!