1दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको पवित्रस्थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्न पाउनेछ?
2त्यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्य बोल्छ,
3जसले आफ्नो जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको बिगार गर्दैन, र आफ्नो साथी-भाइको अपवाद फैलाउँदैन,
4जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्नेहरूलाई आदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्लँदैन,
5जसले आफ्नो रुपियाँ व्याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन।