भजनसंग्रह 17:1-15 NNRV2012 - Bible AI

1दाऊदको प्रार्थना [1] हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्‌, निष्‍कपट मुखबाट निस्‍केको मेरो प्रार्थनामा कान लगाउनुहोस्‌।

2मेरो निर्दोषता तपाईंबाटै ठहरिएको होस्‌, तपाईंको आँखाले सच्‍चाइ देखोस्‌।

3यदि तपाईंले मेरो हृदय जाँच्‍नुभयो भने, र राती पनि मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि, तपाईंले मभित्र केही पनि भेट्टाउनुहुनेछैन। मेरो मुखको बोलीले कुनै अपराध गर्नेछैनँ भनी मैले निश्‍चय गरेको छु।

4मानिसहरूका कामको विषयमा भन्‍ने हो भने— तपाईंका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु।

5मेरा पाइलाले तपाईंका बाटामा दृढ़तासाथ टेकेका छन्‌, मेरा खुट्टा चिप्‍लेका छैनन्‌।

6म तपाईंमा पुकार गर्दछु, हे परमेश्‍वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्‍नुहोस्‌, र मेरो बिन्‍ती सुन्‍नुहोस्‌।

7आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण खोज्‍नेहरूलाई आफ्‍नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्‍नो महान्‌ प्रेमको आश्‍चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्‌।

8तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्‍नुहोस्‌। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्‌—

9ती दुष्‍टहरूबाट, जसले मलाई लुट्‌दछन्‌, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्‌।

10तिनीहरू आफ्‍ना निर्दयी हृदय बन्‍द गर्दछन्‌, र तिनीहरू आफ्‍ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्‌।

11तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्‌, र अब मलाई घेरा लगाउँछन्‌। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्‌।

12तिनीहरू शिकारको निम्‍ति भोकाएको सिंहजस्‍तै भएका छन्‌, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्‍छन्‌।

13हे परमप्रभु, उठ्‌नुहोस्‌, तिनीहरूको सामना गर्नुहोस्‌, तिनीहरूलाई पराजित गरिदिनुहोस्‌। आफ्‍नो तरवारद्वारा मेरो प्राणलाई दुष्‍टहरूबाट छुटाउनुहोस्‌।

14हे परमप्रभु, तपाईंको बाहुलीद्वारा यस्‍ता मानिसहरूबाट मलाई बचाउनुहोस्‌, यी संसारका मानिसहरूबाट जसको पुरस्‍कार यस जीवनकालमा सीमित छ। तपाईंले कदर गर्नुभएकाहरूको भोक शान्‍त गर्नुहुन्‍छ। तिनीहरूका छोराहरूका लागि प्रशस्‍त छन्‌, आफ्‍ना बालबच्‍चाका लागि तिनीहरूले धन-सम्‍पत्ति थुपारेर राख्‍छन्‌।

15अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्‍तुष्‍ट हुनेछु।

>