1जाति-जातिहरू किन षड्यन्त्र रच्छन्, ⓙ र मानिसहरू किन व्यर्थका जाल रच्छन्?
2परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन्, र शासकहरू आपसमा सल्लाह गर्छन्।
3तिनीहरू भन्छन्, “हामी उनीहरूका साङ्लाहरू छिनालौं,” “र उनीहरूका बन्धनहरू फुकाऔं।”
4स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।
5तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ, र आफ्नो बल्दो कोपमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुनेछ:
6“मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु।”
7परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, ⓚ उहाँले मलाई भन्नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।’
8मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याइदिनेछु।
9फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, ⓛ र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ।
10यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान!
11भय मानेर परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द मनाओ।
12पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्।