भजनसंग्रह 20:1-9 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] सङ्कष्‍टको दिनमा परमप्रभुले तपाईंलाई उत्तर देऊन्‌, याकूबका परमेश्‍वरको नाउँले तपाईंलाई सुरक्षा देऊन्‌।

2उहाँले पवित्रस्‍थानबाट तपाईंलाई सहायता पठाऊन्‌, र सियोनबाट तपाईंलाई सहारा देऊन्‌।

3उहाँले तपाईंका सबै बलिदानहरूको सम्‍झना राखून्‌, र तपाईंका होमबलि ग्रहण गरून्‌।

3सेला

4उहाँले तपाईंको मनोरथ पूरा गरून्‌, र तपाईंका सबै योजनाहरू सफल गराऊन्‌।

5तपाईंको विजयमा हामी आनन्‍दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्‍वरको नाउँमा हामी आफ्‍ना झन्‍डा उच्‍च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्‍ती पूरा गरिदेऊन्‌।

6अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्‍ना अभिषिक्तलाई सहायता गर्नुहुन्‍छ। उहाँले आफ्‍नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्‍नो पवित्र स्‍वर्गबाट उनलाई उत्तर दिनुहुनेछ।

7कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्‌, तर हामी त परमप्रभु, हाम्रा परमेश्‍वरकै नाउँमा भरोसा गर्छौं।

8तिनीहरू रन्‍थनिएर जमिनमा लोट्‌नेछन्‌, तर हामीहरू त खड़ा हुनेछौं र सोझा उभिनेछौं।

9हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्‌। हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्‌।