भजनसंग्रह 25:1-22 NNRV2012 - Bible AI

1दाऊदको भजन [1] हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्‍छु।

2हे मेरा परमेश्‍वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्‌, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्‌।

3तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्‍यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्‌, जो क्षमा दिन नसकिने विश्‍वासघातीहरू हुन्‌।

4हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।

5तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।

6हे परमप्रभु, तपाईंको महान्‌ करुणा र प्रेमको सम्‍झना गर्नुहोस्‌, किनकि ती प्राचीनकालदेखि नै भएका छन्‌।

7मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ।

8परमप्रभु भला र सच्‍चा हुनुहुन्‍छ, यसैकारण उहाँले पापीहरूलाई आफ्‍नो बाटो सिकाउनुहुन्‍छ।

9उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्‍याउनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नो मार्ग सिकाउनुहुन्‍छ।

10उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्‍वासयोग्‍य हुन्‍छन्‌।

11हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्‌, यद्यपि मेरो अपराध अति ठूलो छ।

12परमप्रभुको डर मान्‍ने मानिस को छ? त्‍यो हिँड्‌नुपर्ने बाटो, परमप्रभुले त्‍यसलाई सिकाउनुहुनेछ।

13त्‍यसले सुख-चैनमा आफ्‍नो दिन बिताउनेछ, र त्‍यसका सन्‍तानले देशमा अधिकार जमाउनेछन्‌।

14परमप्रभुको भय मान्‍नेहरूसँग उहाँको घनिष्‍ठता हुन्‍छ, र उहाँले तिनीहरूलाई आफ्‍नो करार बताइदिनुहुन्‍छ।

15मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्‌, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाइदिनुहुनेछ।

16मतिर फर्कनुहोस्‌, र ममाथि कृपालु बन्‍नुहोस्‌, किनकि म एकलो र कष्‍टित छु।

17मेरो हृदयका दु:खहरू बढ़ेका छन्‌, मलाई मेरा कष्‍टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्‌।

18मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्‌, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्‌।

19हेर्नुहोस्‌, मेरा शत्रुहरू कति धेरै छन्‌, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्‌।

20मेरो प्राणको रक्षा गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, मैले शर्माउनु नपरोस्‌, किनकि म तपाईंको शरणमा परेको छु।

21ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्‌, किनकि म तपाईंमा आशा राख्‍तछु।

22इस्राएललाई त्‍यसका सबै दु:खबाट मुक्त गरिदिनुहोस्‌, हे परमेश्‍वर।

>