भजनसंग्रह 26:1-12 NNRV2012 - Bible AI

1दाऊदको भजन [1] हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्‌। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु।

2मलाई जाँच्‍नुहोस्‌, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्‍नुहोस्‌।

3किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्‍ने छ, र तपाईंकै सत्‍यतामा म निरन्‍तर चल्‍दछु।

4म छली मानिसहरूसँग बस्‍दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ।

5कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्‍टहरूसँग बस्‍न इन्‍कार गर्दछु।

6निर्दोषतामा म हात धुन्‍छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु।

7उच्‍च स्‍वरमा धन्‍यवादको गीत गाउँदै म तपाईंका सबै आश्‍चर्यकर्मको वर्णन गर्दै हिँड्‌छु।

8हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु।

9मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्‌,

10जसका हात दुष्‍ट योजनाले भरिएका छन्‌, र जसका दाहिने हात घूसले भरिएका छन्‌।

11तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्‌, र ममाथि कृपालु हुनुहोस्‌।

12मेरा गोडा सम्‍म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।

>