1दाऊदको भजन [1] हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, ⓠ उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।
2मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन्।
3मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं!
4मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।
5उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्, र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्नेछैनन्।
6यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्यो, अनि उहाँले सुन्नुभयो, र त्यसलाई त्यसका सबै कष्टबाट बचाउनुभयो।
7परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
8परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्छ। ⓡ उहाँमा शरण लिने मानिस धन्यको हो।
9हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन।
10जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।
11आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु।
12तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्छ, ⓢ र धेरै असल दिनहरू देख्न इच्छा गर्दछ भने—
13आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झूट बोल्नबाट अलग्ग राख।
14खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग।
15परमप्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ।
16परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुनेछ।
17जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।
18चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ।
20परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। ⓣ तिनमा एउटै पनि भाँचिँदैन।
21खराबीले दुष्टलाई नष्ट पार्दछ, र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्।
22परमप्रभुले आफ्ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।