भजनसंग्रह 36:1-12 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] दुष्‍टका पापको सम्‍बन्‍धमा मेरो हृदयमा एउटा ईश्‍वरवाणी छ, त्‍यसका आँखाअगि परमेश्‍वरको डर हुँदैन।

2किनकि त्‍यसले आफ्‍नो यति प्रशंसा गर्छ कि आफ्‍नो पाप त्‍यसले फेला पार्दैन र घृणा गर्दैन।

3त्‍यसको मुखका कुराहरू दुष्‍ट र छली छन्‌। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्‍यसले छोडिसकेको छ।

4त्‍यसले आफ्‍नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्‍यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्‍यसले खराबीलाई अस्‍वीकार गर्दैन।

5हे परमप्रभु, तपाईंको कृपा स्‍वर्गैसम्‍म फैलिएको छ, तपाईंको विश्‍वसनीयता आकाशसम्‍मै।

6तपाईंको धार्मिकता विशाल पहाड़हरूजस्‍तै छ, तपाईंको न्‍याय अगाध समुद्रजस्‍तै छ। हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्‍नुहुन्‍छ।

7तपाईंको अडिग कृपा कति अनमोलको छ! मानिसका सन्‍तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन्‌।

8तपाईंका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन्‌, र तपाईंको सुख-चैनको नदीबाट तपाईंले तिनीहरूलाई पियाउनुहुन्‍छ।

9किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्‍योतिमा हामी प्रकाश देख्‍छौं।

10तपाईंलाई चिन्‍नेहरूमाथि तपाईंको प्रेम रहिरहोस्‌। र सत्‍यनिष्‍ठ हृदय हुनेहरूमा तपाईंको धार्मिकता रहिरहोस्‌।

11अहङ्कारीको खुट्टा मलाई कुल्‍चन नआओस्‌, न त दुष्‍टको हातले मलाई गलहत्त्याउन पाओस्‌।

12कुकर्मीहरू कसरी ढलेर लम्‍पसार परेका छन्‌, तिनीहरू उठ्‌नै नसक्‍ने गरी पछारिएका छन्‌।

>