1आसापको भजन [1] सर्वशक्तिमान् परमेश्वर, परमप्रभु बोल्नुहुन्छ, र सूर्योदयदेखि सूर्यास्तसम्म पृथ्वीलाई बोलाउनुहुन्छ।
2सौन्दर्यमा सिद्ध सियोनबाट परमेश्वर प्रकाशमान् हुनुभएको छ।
3हाम्रा परमेश्वर आउनुहुन्छ, र मौन बस्नुहुनेछैन। उहाँको अगि एक भस्म गर्ने आगो छ, र उहाँको चारैपट्टि प्रचण्ड आँधीबेहरी छ।
4आफ्नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ: ⓕ
5“ममा समर्पित हुने, अनि बलि चढ़ाएर मसँग करार बाँध्ने मेरा भक्तजनहरूलाई मकहाँ भेला गर।”
6अनि स्वर्गले उहाँको धार्मिकताको घोषणा गर्दछ, किनकि परमेश्वर स्वयम् न्यायाधीश हुनुहुन्छ।
6सेला
7“हे मेरो प्रजा, सुन्, र म तँसँग बोल्नेछु, हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु। म परमेश्वर हुँ, तेरा परमेश्वर।
8तेरा बलिदानहरूका लागि म तँलाई दोष दिन्नँ, वा तेरा होमबलिहरूका लागि, जो निरन्तर मेरो सामुन्ने छन्।
9तेरो गोठको साँढ़े, अथवा तेरा गोठहरूबाट बोकाको मलाई आवश्यकता छैन।
10किनकि जङ्गलको हरेक बस्तु र हजारौँ डाँड़ाहरूका गाईबस्तु मेरै हुन्।
11पर्वतहरूको प्रत्येक पक्षीलाई म चिन्छु, र भूमिका सबै प्राणीहरू मेरै हुन्।
12म भोकै भए तापनि तँलाई भन्नेथिइनँ, किनकि पृथ्वी र त्यसमा भएका यावत् थोक मेरै हुन्।
13के म साँढ़ेहरूको मासु खान्छु अथवा बाख्राहरूको रगत पिउँछु?
14परमेश्वरलाई धन्यवाद बलि चढ़ा, र सर्वोच्चलाई दिएको भाकल पूरा गर्।
15र सङ्कष्टको दिनमा मलाई पुकार्, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्।”
16तर दुष्टलाई परमेश्वरले भन्नुहुन्छ, “मेरो व्यवस्था पाठ गर्ने तेरो के हक छ? वा तेरा ओठले मेरो करारको कुरा गर्ने तेरो के अधिकार छ?
17तँ मेरा शिक्षालाई घृणा गर्दछस्, र मेरा वचनलाई लत्त्याउँछस्।
18चोरलाई भेट्दा तँ चोरकै साथी हुन्छस्, अनि तँ व्यभिचारीहरूको सङ्गत गर्छस्।
19खराबी बोल्नलाई तँ आफ्नो मुख चलाउँछस्, र तेरो जिब्रोलाई छली कुराको लागि काममा लगाउँछस्।
20तँ निरन्तर आफ्नै भाइको विरुद्धमा बोल्छस्, र तेरो साक्खै भाइको निन्दा गर्छस्।
21तैंले यी सब काम गरेको छस्, र म चूप लागें, तैंले सोचिस् म सर्वथा तँजस्तै छु। तर म तँलाई हप्काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।
22“हे परमेश्वरलाई बिर्सने हो, यो राम्ररी विचार गर्, नत्रता म तँलाई टुक्रा-टुक्रा पार्नेछु, अनि तँलाई छुटाउने कोही पनि हुँदैन।
23धन्यवाद बलि चढ़ाउनेले नै मेरो महिमा गर्दछ, र त्यसले मार्ग सुधार्छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु।”