भजनसंग्रह 52:1-9 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको मस्‍किल [1] हे शक्तिशाली मानिस, तिमी किन खराबीमा अहङ्कार गर्दछौ? सारा दिन तिमी किन अहङ्कार गर्दछौ, तिमी, जो परमेश्‍वरको दृष्‍टिमा अपमानित छौ।

2ए छली काम गर्ने, तिम्रो जिब्रो धारिलो छुराजस्‍तो छ, त्‍यसले विनाशको युक्ति निकाल्‍दछ।

3असलभन्‍दा खराब तिमी रुचाउँछौ, र साँचो कुरा बोल्‍नुभन्‍दा बरु ढाँट्‌नु तिमीलाई मन पर्छ।

3सेला

4तँ छली जिब्रो, सबै विनाशकारी कुराहरू तँ मन पराउँछस्‌।

5परमेश्‍वरले निश्‍चय तँलाई सदाको निम्‍ति नाश गर्नुहुनेछ। उहाँले तँलाई तानेर तेरो निवासस्‍थानबाट निकाल्‍नुहुनेछ, र जिउँदाको भूमिबाट तँलाई जरैसमेत उखेल्‍नुहुनेछ।

6धर्मीहरू यो देखेर भयभीत हुनेछन्‌। तिनीहरूले यसो भनी त्‍यसको हाँसो उड़ाउनेछन्‌,

6सेला

7“हेर यो मानिस, जसले परमेश्‍वरलाई आफ्‍नो आश्रय बनाएन, तर आफ्‍ना धन-सम्‍पत्तिको प्रशस्‍ततामा भरोसा राख्‍यो, र अरूलाई विनाश गरी बलियो भयो।”

8तर मचाहिँ परमेश्‍वरको भवनमा हरियो जैतूनको वृक्षसमान छु। म परमेश्‍वरको कहिल्यै नटुङ्गिने प्रेममा सदासर्वदा भरोसा राख्‍तछु।

9तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्‍ति म सदासर्वदा तपाईंको स्‍तुति गर्नेछु। म तपाईंको नाउँमाथि भरोसा गर्नेछु, किनकि तपाईंको नाउँ असल छ। तपाईंका भक्तजनहरूको उपस्‍थितिमा म तपाईंको प्रशंसा गर्नेछु।