1सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा दाऊदको मस्किल [1] मेरो प्रार्थना सुनिदिनुहोस्, हे परमेश्वर, र मेरो विनयबाट मुख नमोड्नुहोस्।
2मतिर ध्यान दिनुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मनका विचारले म दु:खित छु, म व्याकुल छु,
3मेरा शत्रुको आवाजदेखि, दुष्टका आँखाको तराइदेखि, किनभने तिनीहरूले ममाथि कष्ट ल्याउँछन् र क्रोधमा तिनीहरू भर्त्सना गर्छन्।
4मेरो हृदय मभित्र ज्यादै वेदनामा छ, र मृत्युको त्रासले मलाई छोपेको छ।
5डर र कम्पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ।
6मैले भनें, “ढुकुरका जस्तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ।
7उड़ेर म टाढ़ा जानेथिएँ, र मरुभूमिमा म बस्नेथिएँ।
7सेला
8आँधी र तूफानबाट टाढ़ा, मेरो शरणस्थानतिर आतुरी गरेर जानेथिएँ।”
9हे परमप्रभु, दुष्टहरूका योजनाहरू नष्ट गरिदिनुहोस्। तिनीहरूको भाषा खलबल्याइदिनुहोस्, किनकि म सहरमा हिंसा र झगड़ा देख्तछु।
10दिनरात तिनीहरू त्यसका पर्खालमा चढ़ेर शिकारको खोजमा वरिपरि घुम्छन्, अधर्म र उपद्रव त्यसभित्र छन्।
11विध्वंसकारी शक्तिहरू सहरभित्र प्रबल छन्, धम्की र झूटले त्यसका सड़कहरू कहिल्यै छोड़ेर जाँदैनन्।
12यदि मेरो शत्रुले मलाई अपमान गर्ने भए, त्यो म सहन सक्नेथिएँ। यदि मेरो शत्रु ममाथि आइलागेको भए, त्योदेखि म लुक्न सक्नेथिएँ।
13तर त्यो त तिमी नै हौ, मजस्तै मानिस, मेरा सहचारी, मेरै हितको मित्र।
14तिनीसँग एक चोटि मेरो मधुर सङ्गति हुन्थ्यो, जसै हामी मानिसको समूहसित परमेश्वरको भवनमा हिँड्थ्यौं।
15मृत्युले मेरा शत्रुहरूलाई अचानक निलोस्। तिनीहरू जिउँदै चिहानमा जाऊन्, किनकि दुष्टता तिनीहरूकै बीचमा वास गर्दछ।
16तर म त परमेश्वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्छ।
17बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्नुहुन्छ।
18म लड़िरहेको युद्धमा उहाँले मलाई विनाचोट उद्धार गर्नुहुन्छ, यद्यपि धेरै जनाले मेरो विरोध गर्छन्।
19सनातनदेखि सिंहासनमा विराजमान हुनुहुने परमेश्वरले सुन्नुहुनेछ र तिनीहरूलाई वेदना दिनुहुनेछ। किनभने तिनीहरू आफ्नो बाटो कहिल्यै सुधार्दैनन्, र परमेश्वरको भय मान्दैनन्।
19सेला
20मेरा साथीले तिनका आफ्ना मित्रहरूमाथि आक्रमण गर्छन्, तिनले आफ्नो करार भङ्ग गरेका छन्।
21तिनको बोली घिउजस्तै चिप्लो छ, तर तिनको हृदयमा झगड़ा छ। तिनका कुराहरू तेलभन्दा पनि आरामदायक छ, तर ती नाङ्गा तरवार हुन्।
22तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुनेछैन।
23तर हे परमेश्वर, तपाईंले दुष्टहरूलाई विनाशको खाड़लमा फालिदिनुहुनेछ। हत्यारा र छली मानिसहरू तिनीहरूको आधा आयुसम्म पनि जिउनेछैनन्। तर म त तपाईंमा भरोसा राख्तछु।