भजनसंग्रह 56:1-13 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको मिक्‍ताम [1] हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌, किनकि मानिसहरूले मेरो अति खेदो गर्छन्‌। दिनभरि तिनीहरूले ममाथि आक्रमण गर्छन्‌।

2मेरा निन्‍दकहरू दिनभरि नै मलाई खेदो गर्छन्‌, धेरै जना अहङ्कारसाथ ममाथि आक्रमण गर्दछन्‌।

3जुन बेला मलाई डर लाग्‍छ, म तपाईंमा भरोसा राख्‍नेछु।

4परमेश्‍वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमेश्‍वरमा भरोसा राख्‍छु, म डराउनेछैनँ, मरणशील मानिसले मलाई के गर्न सक्‍छ र?

5दिनभरि तिनीहरूले मेरा कुराहरूको उल्‍टो अर्थ लाउँछन्‌। तिनीहरूले सधैँ मेरो हानिको लागि षड्‌यन्‍त्र रच्‍छन्‌।

6तिनीहरू मेरो प्राण लिनलाई मेरो विरुद्ध षड्‌यन्‍त्र रच्‍छन्‌, र मलाई मार्न भनी ढुकिबस्‍छन्‌।

7हे परमेश्‍वर, तिनीहरूका अपराधको दण्‍ड तिनीहरूलाई दिनुहोस्‌, तपाईंको क्रोधमा जाति-जातिहरूलाई ढालिदिनुहोस्‌।

8मेरो विलापको लेखा राख्‍नुहोस्‌। मेरो आँसु तपाईंको फिरिस्‍तमा राखिदिनुहोस्‌। के ती तपाईंको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

9जब सहायताको निम्‍ति म पुकारा गर्छु, मेरा शत्रुहरू पीठ फर्काएर भाग्‍नेछन्‌। यसबाट यो म जान्‍नेछु कि परमेश्‍वर मेरो पक्षमा हुनुहुन्‍छ।

10परमेश्‍वरमा, जसका वचनको म प्रशंसा गर्दछु, परमप्रभुमा, जसका वचनको म प्रशंसा गर्दछु,

11परमेश्‍वरमा, भरोसा गर्दछु, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ र?

12हे परमेश्‍वर, तपाईंसित मेरा भाकल छन्‌, म तपाईंमा मेरो धन्‍यवाद बलि चढ़ाउनेछु।

13किनकि तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटाउनुभएको छ, र मेरा गोडालाई ठेस लाग्‍नुदेखि बचाइदिनुभएको छ, कि म परमेश्‍वरको सम्‍मुख जीवनको ज्‍योतिमा हिँडूँ।

>