भजनसंग्रह 57:1-11 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार दाऊदको मिक्‍ताम [1] ममाथि कृपा गर्नुहोस्‌, हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌, किनकि मेरो प्राणले तपाईंमा शरण लिन्‍छ। यो आपत्‌ नहटुञ्‍जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिनेछु।

2सर्वोच्‍च परमेश्‍वरमा म पुकारा गर्छु, परमेश्‍वरमा, जसले मेरो निम्‍ति आफ्‍नो अभिप्राय पूर्ण गर्नुहुन्‍छ।

3स्‍वर्गबाट उहाँले पठाउनुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ, र मलाई क्रूरतासँग पिछा गर्नेहरूलाई हप्‍काउनुहुन्‍छ। परमेश्‍वर आफ्‍नो करुणा र विश्‍वसनीयता प्रकट गर्नुहुन्‍छ।

3सेला

4म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा सुत्दछु। मानिसहरू जसका दाँत बर्छा र बाण हुन्‌, जसका जिब्रा धारिला तरवारझैँ छन्‌।

5हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌।

6तिनीहरूले मेरा गोडाका निम्‍ति जाल बिछाएका छन्‌, म सङ्कष्‍टले तल नुहेको छु। तिनीहरूले मेरो सामुन्‍ने एउटा खाड़ल खनेका छन्‌, तर तिनीहरू आफै त्‍यसमा परेका छन्‌।

6सेला

7मेरो हृदय स्‍थिर छ, हे परमेश्‍वर, मेरो हृदय स्‍थिर छ, म गाउनेछु, म राग बजाउनेछु।

8हे मेरो प्राण, जाग्‌, हे वीणा र सारङ्गी, जाग, म प्रभातलाई जगाउनेछु।

9हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु। मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु।

10किनकि तपाईंको करुणा स्‍वर्गसम्‍म महान्‌ छ, र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ।

11हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌!

>