1सङ्गीत-निर्देशकको निम्ति “विनाश नहोस्” को रागअनुसार दाऊदको मिक्ताम [1] हे शासक हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूका बीचमा ठीक-ठीक न्याय गर्दछौ?
2होइन, तिमीहरू त हृदयभित्र खराब युक्ति रच्तछौ, र तिमीहरूका हातले पृथ्वीमा हिंसाका काम गर्दछन्।
3दुष्टहरू त जन्मदेखि नै भड्केर जान्छन्। गर्भदेखि नै तिनीहरू दुष्ट हुन्छन् र झूट बोल्छन्।
4तिनीहरूको विष सर्पको विषजस्तै छ, गोमनको विषजस्तो, जसले आफ्नो कान बन्द गरेको छ,
5जसले सपेराको आवाज र जत्तिसुकै निपुण जादूगर भए पनि, तिनको सोर सुन्दैन।
6हे परमेश्वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा भाँचिदिनुहोस्। हे परमप्रभु, सिंहहरूका बङ्गारा थुतिदिनुहोस्।
7तिनीहरू बग्ने पानीजस्तै विलीन भइजाऊन्, तिनीहरूले धनुमा ताँदो चढ़ाउँदा तिनका काँड़हरू बोधा भइजाऊन्।
8तिनीहरू हिँड्दाहिँड्दै पग्लेर जाने चिप्लेकीराझैँ होइजाऊन्, तुहेको बालकजस्तै तिनीहरूले सूर्यको किरण कहिल्यै नदेखून्।
9तिम्रा भाँड़ाहरू काँढ़ाको आगोमा तातिन अघि, ती हरिया हुन् कि सुकेका, दुष्टहरू बगाएर लगिनेछन्।
10प्रतिशोध खनिएको देखेर धर्मी जन खुशी हुनेछन्, जब तिनीहरूले आफ्ना खुट्टा दुष्टहरूको रगतमा धुनेछन्।
11तब मानिसहरूले भन्नेछन्, “निश्चय नै धर्मीहरू अझै पुरस्कृत हुन्छन्। निश्चय नै पृथ्वीको न्याय गर्ने एक परमेश्वर हुनुहुन्छ।”