1सङ्गीत-निर्देशकको निम्ति दाऊदको मिक्ताम [1] हे परमेश्वर, तपाईंले हामीलाई त्याग्नुभएको छ, ⓠ अनि तपाईं हामीमाथि पड्किनु भएको छ। तपाईं हामीमाथि क्रुद्ध हुनुभएको छ— अब हामीलाई पुनर्स्थापित गर्नुहोस्।
2तपाईंले धरतीलाई थर्काउनुभएको छ, र त्यसलाई फारिदिनुभएको छ। त्यसका धाँदाहरू पुरिदिनुहोस्, किनकि त्यो हल्लिँदैछ।
3तपाईंले आफ्नो प्रजालाई कठिन कुराहरू भोग्न लाउनुभएको छ, तपाईंले हामीलाई धरमराउने मद्य दिनुभएको छ।
4तर धनुको विरुद्ध फहराउनलाई तपाईंको भय मान्नेहरूका लागि तपाईंले एउटा झन्डा खड़ा गर्नुभएको छ।
4सेला
5तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मदत गर्नुहोस्, ⓡ र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्।
6परमेश्वरले आफ्नो पवित्रस्थानबाट भन्नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु, र सुक्कोतको बेँसी नापेर छुट्ट्याउनेछु।
7गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो। एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्ड हो।
8मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्नो जुत्ता फाल्छु, पलिश्तमाथि म विजयसाथ कराउँछु।”
9कसले मलाई किल्ला भएको सहरमा पुर्याइदेला? एदोमसम्म मलाई कसले डोर्याउला?
10हे परमेश्वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ, र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्न?
11शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्, किनकि मानिसको सहायता त व्यर्थको हुन्छ।
12परमेश्वरद्वारा हामी विजय प्राप्त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।