1तिनी यहूदाको मरुभूमिमा हुँदा दाऊदको भजन [1] हे परमेश्वर, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, ⓣ म तपाईंलाई दिलोज्यानले खोज्छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्ति मरिमेट्दछ।
2मैले तपाईंलाई पवित्रस्थानमा देखेको छु, र तपाईंको शक्ति र महिमा देखें।
3तपाईंको प्रेम जीवनभन्दा श्रेष्ठ छ, यसकारण मेरा ओठले तपाईंको महिमा गर्नेछन्।
4म मेरो जीवनभरि नै तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाउँमा म आफ्ना हात उचाल्नेछु।
5असल भोजनले झैँ मेरो प्राण तृप्त हुनेछ, मेरो मुखले सङ्गीतमय ओठसित तपाईंको प्रशंसा गर्नेछ।
6मेरो ओछ्यानमा म तपाईंको सम्झना गर्छु, र रातभरि तपाईंको ध्यान गर्छु।
7तपाईं मेरो सहायता हुनुहुन्छ, यसकारण म तपाईंका पखेटाको छायामुनि आनन्दले गाउँछु।
8मेरो प्राण तपाईंमा लुटुपुटु भएको छ, तपाईंको दाहिने बाहुलीले मलाई सम्हाल्दछ।
9मेरो प्राण लिन खोज्नेहरूचाहिँ पृथ्वीको तल्लो भागमा पुगेर नष्ट हुनेछन्।
10तिनीहरू तरवारले मारिनेछन्, र स्यालहरूको आहार हुनेछन्।
11तर राजाचाहिँ परमेश्वरमा आनन्दित हुनेछन्, परमेश्वरको नाउँमा शपथ लिनेहरूले उहाँको प्रशंसा गर्नेछन्, तर झूटा बोल्नेहरूका मुख थुनिनेछन्।