भजनसंग्रह 64:1-10 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] मैले उजूर गर्दा मेरो पुकारा सुन्‍नुहोस्‌, हे परमेश्‍वर, शत्रुको डरबाट मेरो ज्‍यानलाई जोगाइदिनुहोस्‌।

2दुष्‍टहरूको गुप्‍त योजनाबाट र कुकर्मीहरूका समूहको षड्‌यन्‍त्रबाट मलाई लुकाउनुहोस्‌।

3तिनीहरू आफ्‍ना जिब्रालाई तरवारझैँ धार लगाउँछन्‌, र तिनीहरूका वचन घातक काँड़झैँ ताक्‍छन्‌।

4निर्दोषलाई तिनीहरू ढुकेर हान्‍छन्‌, डरैविना अचानक त्‍यसलाई हान्‍छन्‌।

5तिनीहरू आफ्‍ना दुष्‍ट षड्‌यन्‍त्रमा एक-अर्कालाई प्रोत्‍साहन दिन्‍छन्‌, पासो गुप्‍तमा थाप्‍ने मतो तिनीहरू गर्छन्‌। तिनीहरू भन्‍छन्‌, “कसले हामीलाई देख्‍छ र?”

6तिनीहरू अन्‍यायको षड्‌यन्‍त्र रच्‍तछन्‌ र भन्‍छन्‌, “हामीले सिद्ध योजना बनाएका छौं।” साँच्‍चै, मानिसका मन र हृदय धूर्त हुन्‍छन्‌।

7तर परमेश्‍वरले काँड़हरूले तिनीहरूमाथि हान्‍नुहुनेछ, तिनीहरू अचानक घायल हुनेछन्‌।

8तिनीहरूका जिब्रो तिनीहरूकै विरुद्ध उहाँले फर्काइदिनुहुनेछ, र तिनीहरूलाई नाश गर्नुहुनेछ। तिनीहरूलाई देख्‍ने सबैले गिल्‍ला गर्दै मुन्‍टो हल्‍लाउनेछन्‌।

9सबै मनुष्‍य-जाति भयभीत हुनेछन्‌, तिनीहरूले परमेश्‍वरका कामको घोषणा गर्नेछन्‌, र उहाँले गर्नुभएको काममाथि ध्‍यान दिनेछन्‌।

10धर्मीहरू परमप्रभुमा आनन्‍दित होऊन्‌, र उहाँमा शरण लिऊन्‌। सोझो हृदय भएकाहरू सबैले उहाँको प्रशंसा गरून्‌।

>