1हे परमप्रभु, तपाईंमा मैले शरण लिएको छु, मैले कहिल्यै शर्माउनु नपरोस्।
2तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र मलाई छुटाउनुहोस्, आफ्नो कान मतिर थाप्नुहोस्, र मलाई बचाउनुहोस्।
3मेरो निम्ति आश्रयको चट्टान बन्नुहोस्, जहाँ म सधैँ जान सक्छु। मलाई बचाउन आज्ञा दिनुहोस्, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ।
4हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट र अन्यायी तथा निर्दयी मानिसको पन्जाबाट छुटाउनुहोस्।
5किनकि हे परमप्रभु परमेश्वर, तपाईं मेरो आशा हुनुभएको छ, मेरो युवाकालदेखि नै मेरो भरोसा।
6जन्मदेखि नै मैले तपाईंमाथि भरोसा गरेको छु। मेरी आमाको गर्भबाट मलाई निकाल्ने तपाईं हुनुहुन्छ, निरन्तर म तपाईंकै प्रशंसा गरिरहनेछु।
7धेरैका निम्ति म एउटा अपशकून भएको छु, तर तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ।
8मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ, सारा दिन तपाईंको प्रतापको घोषणा गर्दछु।
9बुढ़ेसकालमा मलाई नत्याग्नुहोस्, मेरो बल घटेको बखतमा मलाई नछोड्नुहोस्।
10किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्, मेरो प्राणलाई घात गर्न खोज्नेहरू आपसमा यसो भनेर सल्लाह गर्छन्,
11“परमेश्वरले त्यसलाई त्याग्नुभएको छ। त्यसलाई खेदेर समात, किनकि त्यसको उद्धार गर्ने कोही छैन।”
12हे परमेश्वर, मबाट टाढ़ा नहुनुहोस्, हे मेरा परमेश्वर, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्।
13मलाई दोष लाउनेहरू शर्ममा परेर भस्म होऊन्, मलाई आघात पुर्याउन खोज्नेहरू गिल्ला र बेइज्जतले भरिऊन्।
14तर मचाहिँ निरन्तर आशा गरिरहनेछु, अझ धेरै तपाईंको प्रशंसा गर्नेछु।
15मेरो मुखले तपाईंको धार्मिकता, र तपाईंबाट हुने उद्धारको विषयमा सारा दिन बोल्नेछ, यद्यपि तिनको परिमाण मलाई थाहा छैन।
16हे परमप्रभु परमेश्वर, तपाईंका शक्तिशाली कार्यको म घोषणा गर्नेछु, तपाईंका धार्मिकताको मात्र म घोषणा गर्नेछु।
17हे परमेश्वर, युवावस्थादेखि तपाईंले मलाई शिक्षा दिनुभएको छ, र आजको दिनसम्म तपाईंका उदेकका कार्यहरूको घोषणा गर्दछु,
18हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्, अर्को पुस्तालाई र पछि आउने सबैलाई मैले तपाईंका सामर्थ्यको घोषणा नगरेसम्म मलाई नत्याग्नुहोस्।
19हे परमेश्वर, तपाईंको धार्मिकता उच्च स्वर्गसम्म पुग्दछ, जसले महान् कार्यहरू गर्नुभएको छ, हे परमेश्वर, तपाईंजस्तो को छ र?
20तपाईंले मलाई धेरै तीता कष्टहरू देखाउनुभयो, तर तपाईंले मलाई पुनर्जीवित पार्नुहुनेछ, पृथ्वीको गहिराइबाट फेरि मलाई माथि ल्याउनुहुनेछ।
21तपाईंले मेरो सम्मान बढ़ाउनुहुनेछ, र मलाई फेरि सान्त्वना दिनुहुनेछ।
22हे मेरा परमेश्वर, तपाईंको विश्वसनीयताको निम्ति म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु। सारङ्गी बजाएर म तपाईंको प्रशंसा गर्नेछु, हे इस्राएलका पवित्र परमेश्वर।
23जब म तपाईंको प्रशंसा गाउँदछु, मेरा ओठहरू हर्षले कराउनेछन्— म, जसलाई तपाईंले उद्धार गर्नुभएको छ।
24मेरो जिब्रोले तपाईंको धार्मिकताका कार्यहरूका विषयमा दिनभरि वर्णन गर्नेछ, किनकि मेरो हानि गर्न खोज्नेहरू शर्ममा र अन्योलमा परेका छन्।