भजनसंग्रह 73:1-28 NNRV2012 - Bible AI

1आसापको भजन [1] साँच्‍चै नै इस्राएलको निम्‍ति परमेश्‍वर भला हुनुहुन्‍छ, तिनीहरूका निम्‍ति जसको हृदय शुद्ध छ।

2तर मेरा खुट्टा प्राय: चिप्‍लन लागेका थिए। मैले मेरो टेक्‍ने आधार हराउन लागेको थिएँ।

3किनकि दुष्‍टहरूको उन्‍नति देखेर ती अहङ्कारीहरूको म डाह गर्दथें।

4तिनीहरूलाई कठिनाइ छैन, तिनीहरूका शरीर स्‍वस्‍थ र बलिया छन्‌।

5अरू मानिसहरूझैँ तिनीहरू कष्‍टमा हुँदैनन्‌, तिनीहरूमाथि मानव खराबी आइलाग्‍दैनन्‌।

6यसकारण अहङ्कार तिनीहरूको सिक्री हुन्‍छ, र तिनीहरू हिंसाको वस्‍त्र लाउँछन्‌।

7तिनीहरूका निष्‍ठुर हृदयबाट दुष्‍टता निस्‍कन्‍छ, तिनीहरूका मनको दुष्‍ट अहङ्कारको सीमा छैन।

8तिनीहरू ठट्टा गर्छन्‌, अनि डाहका कुरा गर्छन्‌, र आफ्‍नो अहङ्कारमा अत्‍याचार गर्ने धम्‍की दिन्‍छन्‌।

9तिनीहरूका मुखले स्‍वर्गकै दाबी गर्छन्‌, र तिनीहरूका जिब्राले पृथ्‍वीलाई अधिकार गर्छन्‌।

10यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्‍छन्‌, र प्रशस्‍त पानी पिउँछन्‌।

11तिनीहरू भन्‍छन्‌, “परमेश्‍वरले कसरी जान्‍नुहुन्‍छ र? के सर्वोच्‍चमा ज्ञान छ र?”

12हेर, दुष्‍टहरू यस्‍ता छन्‌। सधैँ निश्‍चिन्‍त, तिनीहरू धन बढ़ाउँछन्‌।

13निश्‍चय मैले व्‍यर्थमा आफ्‍नो हृदय शुद्ध राखेको छु, र निर्दोषतामा आफ्‍नो हात धोएको छु।

14दिनभरि मैले आपत्ति भोगेको छु, र प्रत्येक बिहान मैले दण्‍ड भोग्‍नुपरेको छ।

15यदि “म यसै भन्‍नेछु” भनी मैले भनेको भए त, मैले तपाईंका सन्‍तानलाई विश्‍वासघात गर्नेथिएँ।

16जब मैले यी सबै बुझ्‍ने कोसिस गरें, यो मेरो निम्‍ति अति गह्रौँ भयो,

17जबसम्‍म म परमेश्‍वरको पवित्रस्‍थानमा पसिनँ। तब मात्र मैले तिनीहरूको अन्‍तिम अवस्‍था बुझें।

18निश्‍चय तपाईंले तिनीहरूलाई चिप्‍ला ठाउँहरूमा राख्‍नुहुन्‍छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फालिदिनुहुन्‍छ।

19तिनीहरू कति अचानक नष्‍ट हुन्‍छन्‌, त्रासले तिनीहरू पूर्णत: बगाइए!

20तिनीहरू बिहान बिउँझँदा सपनाजस्‍तै टलिजान्‍छन्‌। हे परमप्रभु, तपाईं बिउँझँदा तिनीहरूलाई कल्‍पनाझैँ तुच्‍छ ठान्‍नुहुन्‍छ।

21जब मेरो हृदय दु:खित भएको थियो, र मेरो मुटुमा तीतोपन थियो,

22म यस्‍तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्‍य थिएँ।

23तैपनि म निरन्‍तर तपाईंसँगै छु, तपाईंले मेरो दाहिने हात थाम्‍नुभएको छ।

24आफ्‍नै सल्‍लाहमा तपाईंले मलाई डोर्‍याउनुहुन्‍छ, र पछि मलाई महिमामा लानुहुनेछ।

25स्‍वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? र पृथ्‍वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन।

26मेरो तन र मन दुवै विफल होलान्‌, तर परमेश्‍वर सदासर्वदाको निम्‍ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्‍छ।

27तपाईंबाट टाढ़ा रहनेहरू नष्‍ट हुनेछन्‌, तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईं विनाश गर्नुहुन्‍छ।

28तर मेरो लागि भने परमेश्‍वरको नजिक रहनु असल छ। मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्‍थान बनाएको छु, म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।

>