भजनसंग्रह 74:1-23 NNRV2012 - Bible AI

1आसापको मस्‍किल [1] हे परमेश्‍वर, तपाईंले हामीलाई किन सधैँको लागि त्‍याग्‍नुभएको छ? तपाईंको रीस तपाईंको खर्कका भेड़ाहरूका विरुद्धमा किन दन्‍कन्‍छ?

2आफ्‍ना मानिसहरूलाई सम्‍झना गर्नुहोस्‌, जुनहरूलाई प्राचीनकालमा तपाईंले किन्‍नुभएको थियो, जुनहरूलाई तपाईंका उत्तराधिकारको कुल हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं वास गर्नुहुन्‍छ।

3आफ्‍ना कदम यी अनन्‍त भग्‍नावशेषतिर बढ़ाउनुहोस्‌, शत्रुहरूले पवित्रस्‍थानमा भएका यी सबै थोक नष्‍ट पारेका छन्‌।

4तपाईंले हामीलाई भेट्‌नुभएको स्‍थानमा तपाईंका शत्रुहरू गर्जेका छन्‌, तिनीहरूले आफ्‍ना झन्‍डाहरू चिन्‍हको रूपमा गाड़ेका छन्‌।

5रूखहरूको घारी बन्‍चराले नष्‍ट पार्ने मानिसले झैँ तिनीहरूले व्‍यवहार गरे।

6तिनीहरूले आफ्‍ना बन्‍चरो र घनले बुट्टा काटेका सबै खापाहरूलाई चकनाचूर पारे।

7तिनीहरूले तपाईंको पवित्रस्‍थानमा आगो लगाए, तपाईंका नाउँको वासस्‍थान तिनीहरूले अपवित्र तुल्‍याए।

8तिनीहरूले आफ्‍ना हृदयभित्र भने, “हामी तिनीहरूलाई पूर्ण रूपले मिच्‍नेछौं।” देशमा भएको परमेश्‍वरको आराधना गरिने प्रत्‍येक स्‍थान तिनीहरूले जलाए।

9हामी कुनै पनि आश्‍चर्य चिन्‍हहरू देख्‍दैनौं, अब कुनै अगमवक्ता बाँकी छैनन्‌, र यो कतिञ्‍जेल रहन्‍छ हामीमध्‍ये कसैलाई थाहा छैन।

10हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्‍म तपाईंको ठट्टा गर्नेछन्‌? के शत्रुले तपाईंका नाउँको निन्‍दा सधैँभरि गरिरहन्‍छन्‌?

11तपाईं किन आफ्‍नो बाहुली, आफ्‍नो दाहिने बाहुली पछि थामेर राख्‍नुहुन्‍छ? लुगाबाट हात निकाल्‍नुहोस्‌ र तिनीहरूलाई नाश गर्नुहोस्‌।

12तर हे परमेश्‍वर, तपाईं तादिदेखि नै मेरा राजा हुनुहुन्‍छ, तपाईंले पृथ्‍वीमा उद्धार ल्‍याउनुहुन्‍छ।

13तपाईं नै हुनुहुन्‍छ जसले आफ्‍नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो।

14तपाईंले लिव्‍यातन्‌ जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्‍यसलाई वनपशुहरूका आहारको निम्‍ति दिनुभयो।

15तपाईं नै हुनुहुन्‍छ जसले पानीका मूल र खोलाहरू फुटाएर निकाल्‍नुभयो। तपाईंले निरन्‍तर बगिरहने नदीहरूलाई सुकाइदिनुभयो।

16दिन तपाईंको हो, रात पनि तपाईंकै हो। सूर्य र चन्‍द्र तपाईंले नै स्‍थापित गर्नुभयो।

17पृथ्‍वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो। तपाईंले ग्रीष्‍म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो।

18हे परमेश्‍वर, शत्रुले तपाईंको कसरी ठट्टा गर्छ सो सम्‍झनुहोस्‌, र मूर्ख मानिसहरूले कसरी तपाईंका नाउँको निन्‍दा गरेका छन्‌।

19तपाईंको आफ्‍नो ढुकुरको प्राण जङ्गली जनावरलाई नदिनुहोस्‌। आफ्‍नो पीडित जनको प्राणलाई सदाकाल नभुल्‍नुहोस्‌,

20तपाईंका करारको मर्यादा कायम राख्‍नुहोस्‌, किनकि देशका अँध्‍यारा ठाउँहरू हिंसाले भरिएका छन्‌।

21थिचोमिचोमा परेकाहरू शर्ममा पछि नहटून्‌, दु:खी र दरिद्रहरूले तपाईंका नाउँको प्रशंसा गरून्‌।

22हे परमेश्‍वर, उठ्‌नुहोस्‌, र आफ्‍नो पक्षको विषयलाई सम्‍हाल्‍नुहोस्‌। मूर्ख मानिसहरूले कसरी दिनभरि तपाईंको ठट्टा गरिरहन्‍छन्‌ सो सम्‍झनुहोस्‌।

23तपाईंका विरोधीहरूको होहल्‍ला र तपाईंका शत्रुहरूको निरन्‍तर हुने खैलाबैला नभुल्‍नुहोस्‌।

>