1सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा आसापको भजन [1] यहूदामा परमेश्वर चिनिनुभएको छ, इस्राएलमा उहाँको नाउँ महान् छ।
2शालेममा उहाँको वासस्थान, उहाँको बस्ने ठाउँ सियोनमा छ।
3उहाँले त्यहाँ जल्दा बाणहरू, ढाल र तरवार तथा लड़ाइँका अस्त्र-शस्त्रहरू भाँच्नुभयो।
3सेला
4तपाईं ज्योतिले अति उज्ज्वल हुनुहुन्छ, र शिकारले धनी पर्वतहरूभन्दा पनि ऐश्वर्यवान् हुनुहुन्छ।
5निडर मन भएकाहरू लुटिएका छन्, तिनीहरू गहिरो निद्रामा परेका छन्, र शूरवीरहरूमा एउटैले पनि हात उचाल्न सक्दैन।
6हे याकूबका परमेश्वर, तपाईंको हप्कीमा घोड़चढ़ी र घोडा दुवै निष्प्राण भएका छन्।
7तपाईं मात्र भय मान्ने योग्यका हुनुहुन्छ, तपाईं क्रोधित हुँदा, तपाईंको सामु को खड़ा हुन सक्छ र?
8तपाईंले स्वर्गबाट आफ्नो न्याय-निर्णय सुनाउनुभयो, र पृथ्वी डरले चूपचाप रह्यो—
9जब तपाईं, हे परमेश्वर, देशमा अत्याचार परेका सबैलाई बचाउन तपाईं न्याय गर्न उठ्नुभयो,
9सेला
10निश्चय मानिसप्रति तपाईंको क्रोधले तपाईंको प्रशंसा ल्याउनेछ, अनि जो तपाईंको क्रोधबाट बाँचेका छन्, तिनीहरू रोकिएका छन्।
11परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति भाकल गर र त्यो पूरा गर, उहाँको चारैपट्टि रहनेहरू सबैले उहाँलाई भेटी चढ़ाओ, जो भय मान्ने योग्यका हुनुहुन्छ।
12उहाँले शासकहरूको घमण्ड चूर पार्नुहुन्छ। पृथ्वीका राजाहरू उहाँदेखि डराउँछन्।