भजनसंग्रह 78:1-72 NNRV2012 - Bible AI

1आसापको मस्‍किल [1] हे मेरा प्रजा, मेरा शिक्षातिर कान लगाओ, मेरो मुखका वचनमाथि ध्‍यान देओ।

2म मेरो मुख दृष्‍टान्‍तमा खोल्‍नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु,

3ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं, र जुन कुरा हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्‌।

4हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्‍नेछैनौं, तर आउने पुस्‍तालाई परमप्रभुका महिमामय कार्यहरू र उहाँको सामर्थ्‍य अनि उहाँले गर्नुभएका आश्‍चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौं।

5उहाँले याकूबको निम्‍ति कानूनहरू कायम राख्‍नुभयो, र इस्राएलमा एउटा व्‍यवस्‍था स्‍थापना गर्नुभयो। आफ्‍ना सन्‍तानहरूलाई यी कुरा सिकाऊन्‌ भनेर, उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो,

6कि आउँदो पुस्‍ताले यी कुरा जानून्‌, र अझ नजन्‍मेका शिशुहरूले पनि यी कुरा जानून्‌, र तिनीहरूले आफ्‍ना सन्‍तानलाई पनि यी कुरा भनून्‌।

7यसरी तिनीहरूले परमेश्‍वरमा भरोसा राख्‍नेथिए, र उहाँका कार्यहरू बिर्सनेथिएनन्‌, तर उहाँका आज्ञाहरू पालन गर्नेथिए।

8तिनीहरू आफ्‍ना पिता-पुर्खाझैँ हठी र विद्रोही पुस्‍ता नहोऊन्‌, जसका हृदयहरू परमेश्‍वरतर्फ बफादार थिएनन्‌, र जसका आत्‍मा परमेश्‍वरतर्फ विश्‍वस्‍त थिएनन्‌।

9एफ्राइमका मानिसहरू धनुले सुसज्‍जित थिए, तर लड़ाइँको दिनमा तिनीहरूले पिठिउँ फर्काए।

10तिनीहरूले परमेश्‍वरको करार पालन गरेनन्‌, र उहाँको व्‍यवस्‍थामा चल्‍न इन्‍कार गरे।

11तिनीहरूले उहाँका कामहरूलाई बिर्से, ती आश्‍चर्य कामहरू जुन उहाँले तिनीहरूलाई देखाउनुभएको थियो।

12तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्‍ने उहाँले मिश्रदेशमा र सोअनको मैदानमा अचम्‍म-अचम्‍मका कामहरू गर्नुभयो।

13उहाँले समुद्रलाई दुई भाग गर्नुभयो, र तिनीहरूलाई बीचबाट पारि डोर्‍याउनुभयो, र उहाँले पानीलाई पर्खालझैँ खड़ा गरिदिनुभयो,

14दिउँसो उहाँले तिनीहरूलाई बादलले र रातभरि अग्‍निको प्रकाशले अगुवाइ गर्नुभयो।

15उहाँले उजाड-स्‍थानमा चट्टानहरूलाई दुई भाग पार्नुभयो, र सागरमा झैँ प्रशस्‍त पानी पिउन दिनुभयो।

16उहाँले चट्टानबाट पानीको धारा निकाल्‍नुभयो, र पानी नदीझैँ बगाउनुभयो।

17तर मरुभूमिमा तिनीहरू सर्वोच्‍च प्रभुको विरुद्धमा विद्रोही भई उहाँको विरुद्धमा पाप गरी नै रहे।

18आफ्‍नै इच्‍छाबमोजिम खानेकुरा मागेर तिनीहरूले जानी-जानी परमेश्‍वरको परीक्षा गरे।

19तिनीहरूले परमेश्‍वरको विरुद्धमा यस्‍तो वचन बोले, “के परमेश्‍वरले उजाड-भूमिमा खानेकुरा दिन सक्‍नुहुन्‍छ र?

20जब उहाँले चट्टानलाई हिर्काउनुभयो, तब पानी फुटिनिस्‍क्‍यो, र खोलाहरू प्रशस्‍त भई बगे। तर के उहाँले हामीलाई भोजन पनि दिन सक्‍नुहुन्‍छ र? के उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति मासु जुटाउन सक्‍नुहुन्‍छ र?”

21जब परमप्रभुले तिनीहरूका कुरा सुन्‍नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, र याकूबको विरुद्धमा उहाँको आगो सल्‍क्‍यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्‍क्‍यो,

22किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन्‌, र उहाँको उद्धारमा भरोसा राखेनन्‌।

23तापनि उहाँले माथि आकाशलाई हुकुम दिनुभयो, र स्‍वर्गका ढोकाहरू खोलिदिनुभयो।

24उहाँले मानिसहरूका निम्‍ति खानलाई मन्‍न बर्साउनुभयो, तिनीहरूलाई स्‍वर्गको अन्‍न दिनुभयो।

25मानिसहरूले स्‍वर्गदूतहरूको रोटी खाए। परमेश्‍वरले तिनीहरूलाई मनग्‍गे खानेकुरा दिनुभयो।

26उहाँले आकाशमा पूर्वीय बतास छोड्‌नुभयो, र उहाँले आफ्‍नै शक्तिले दक्षिणी बतास चलाउनुभयो।

27उहाँले धूलाको कणसरह मासु बर्षाउनुभयो, उड्‌ने पक्षीहरू समुद्री तटको बालुवाझैँ बर्षाउनुभयो।

28उहाँले तिनीहरूको छाउनीभित्र ती पक्षीहरू तिनीहरूका पालको चारैतिर आउन लगाउनुभयो।

29तिनीहरूले खाए, र तिनीहरू तृप्‍त भए, किनकि उहाँले तिनीहरूलाई तिनीहरूको इच्‍छाबमोजिम दिनुभएको थियो।

30तर तिनीहरूको तृष्‍णा मेटिन अघि, तिनीहरूले खाएका मासु तिनीहरूका मुखैमा हुँदा,

31तिनीहरूमाथि परमेश्‍वरको क्रोध दन्‍किउठ्यो। र तिनीहरूमध्‍येका बलवान्‌हरूलाई उहाँले मार्नुभयो, इस्राएलका युवकहरूलाई निमिट्यान्‍न बनाइदिनुभयो।

32यति हुँदा पनि तिनीहरूले पाप गरी नै रहे, उहाँका आश्‍चर्यकर्म हुँदाहुँदै पनि तिनीहरूले विश्‍वास गरेनन्‌।

33यसकारण उहाँले तिनीहरूका दिन व्‍यर्थतामा, र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा लोप गराइदिनुभयो।

34जब परमेश्‍वरले तिनीहरूलाई मार्नुभयो, तिनीहरूले उहाँको खोजी गरे, तिनीहरू फेरि यत्‍नसाथ उहाँतिर फर्के।

35तिनीहरूलाई याद भयो कि परमेश्‍वर तिनीहरूको चट्टान, र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धार गर्ने हुनुहुँदोरहेछ।

36तर त्‍यसपछि तिनीहरूले ओठले मात्र उहाँको खुशामद गरे, र आफ्‍ना जिब्राले तिनीहरूले उहाँसित झूट बोले।

37तिनीहरूका हृदय उहाँप्रति ईमानदार थिएनन्‌, उहाँको करारप्रति तिनीहरू विश्‍वस्‍त रहेनन्‌।

38तापनि उहाँचाहिँ दयालु हुनुभएकोले उहाँले तिनीहरूका अपराध क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। बारम्बार उहाँले आफ्‍नो क्रोध रोक्‍नुभयो, र उहाँले आफ्‍नो सम्‍पूर्ण क्रोध उत्तेजित पार्नुभएन।

39उहाँले यही सम्‍झनुभयो, कि तिनीहरू त शरीर मात्र हुन्‌, जो सासजस्‍तो निस्‍कन्‍छ र फर्किआउँदैन।

40कति पल्‍ट तिनीहरू मरुभूमिमा उहाँको विरुद्ध विद्रोही भए, र उजाड-स्‍थानमा उहाँलाई दु:खित तुल्‍याए।

41तिनीहरूले घरीघरी उहाँको परीक्षा गरे, र इस्राएलका परमपवित्रलाई क्रुद्ध तुल्‍याए

42तिनीहरूले उहाँको शक्तिलाई स्‍मरण गरेनन्‌, त्‍यस दिनको पनि सम्‍झना गरेनन्‌, जुन दिन उहाँले मोल तिरेर तिनीहरूलाई तिनका अत्‍याचारीहरूबाट छुटकारा दिनुभयो,

43जुन दिन उहाँले मिश्रदेशमा आफ्‍ना चिन्‍ह देखाउनुभयो, र सोअनको मैदानमा आश्‍चर्यकर्महरू गर्नुभयो।

44उहाँले तिनीहरूका नदीहरू रगतमा परिणत गरिदिनुभयो, र तिनीहरूले नदीको पानी पिउन सकेनन्‌।

45उहाँले तिनीहरूका बीचमा झीँगाहरू पठाउनुभयो, जसले तिनीहरूलाई टोके, र भ्‍यागुताहरू, जसले तिनीहरूलाई उजाड पारे।

46उहाँले तिनीहरूका फसल फटेंग्राहरूलाई दिनुभयो, र तिनीहरूका परिश्रमको फल सलहलाई।

47उहाँले तिनीहरूका अंगूरका बोटहरू असिनाले, र तिनीहरूका अञ्‍जीरका बोटहरू तुसारोले नष्‍ट गरिदिनुभयो।

48उहाँले तिनीहरूका गाईबस्‍तुको बथानलाई असिनाले, र तिनीहरूका भेड़ाबाख्राको बगाललाई बिजुलीले प्रहार गर्नुभयो।

49उहाँले तिनीहरूलाई आफ्‍नो प्रचण्‍ड, क्रोध, कोप, रीस र शत्रुता— अर्थात्‌ विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।

50उहाँले आफ्‍नो क्रोधको एउटा मार्ग तयार गर्नुभयो, र तिनीहरूलाई मृत्‍युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्‍पनुभयो।

51उहाँले मिश्रदेशका सबै ज्‍येष्‍ठ सन्‍तानलाई, हामका पालमा जवानीको पहिलो फललाई मार्नुभयो।

52तर उहाँले आफ्‍ना मानिसहरूलाई भेड़ाहरूलाई झैँ बाहिर निकालिल्‍याउनुभयो, र उहाँले तिनीहरूलाई भेड़ाको बगाललाई झैँ उजाड-स्‍थानको बीचबाट अगुवाइ गर्नुभयो।

53उहाँले तिनीहरूलाई सुरक्षासाथ डोर्‍याउनुभयो, यसैले तिनीहरू डराएनन्‌। तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्‍यो।

54यसरी परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो पवित्र भूमिको साँधमा ल्‍याउनुभयो, त्‍यही पहाडी देशमा, जो उहाँले आफ्‍नो दाहिने बाहुलीले जित्‍नुभएको थियो।

55उहाँले जातिहरूलाई तिनीहरूका सामु लखेटिदिनुभयो, अनि उनीहरूका जमिन भाग-भाग गरी पैतृक-सम्‍पत्तिझैँ इस्राएलीहरूलाई दिनुभयो, र कुल-कुललाई उनीहरूका पालमा बसाल्‍नुभयो।

56तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे, र सर्वोच्‍चको विरुद्धमा बागी भए, र उहाँका कानूनहरू पालन गरेनन्‌।

57तिनीहरू आफ्‍ना पुर्खाहरूझैँ बेवफादार र विश्‍वासघाती बने, र भर पर्न नसकिने बिग्रेको धनुझैँ भए।

58तिनीहरूले डाँड़ाका थानहरूमा वेदी स्‍थापित गरी उहाँलाई क्रोधित तुल्‍याए, र तिनीहरूले आफ्‍ना मूर्तिहरूले उहाँलाई ईर्ष्‍यालु बनाए।

59जब परमेश्‍वरले यो सुन्‍नुभयो, तब उहाँ अत्‍यन्‍त क्रोधित हुनुभयो, र इस्राएलीहरूलाई पूर्ण रूपले इन्‍कार गर्नुभयो।

60उहाँले शीलोमा भएको पवित्र वासस्‍थान त्‍याग्‍नुभयो, त्‍यो पाल जो उहाँले मानिसहरूका बीचमा राख्‍नुभएको थियो।

61उहाँले आफ्‍नो शक्तिको सन्‍दूक शत्रुहरूका हातमा पठाइदिनुभयो, आफ्‍नो गौरव शत्रुहरूका हातमा जान दिनुभयो।

62उहाँले आफ्‍नो प्रजा तरवारलाई सुम्‍पनुभयो, र आफ्‍नो उत्तराधिकारका मानिसहरूसँग औधी रिसाउनुभयो।

63आगोले तिनीहरूका जवानहरू भस्‍म पारिए, र तिनीहरूका कन्‍याहरूका निम्‍ति विवाहको गीत भएन।

64तिनीहरूका पूजाहारीहरू तरवारले काटिए, र तिनीहरूका विधवाहरूले शोक मनाउन सकेनन्‌।

65तब परमप्रभु निद्राबाट बिउँझेझैँ बिउँझनुभयो, मद्यको उन्‍मादबाट बिउँझेको मानिसझैँ।

66उहाँले आफ्‍ना विरोधीहरूलाई तितरबितर पार्नुभयो, उहाँले उनीहरूलाई सदाको निम्‍ति शर्ममा पार्नुभयो।

67तब उहाँले योसेफका सन्‍तानलाई त्‍याग्‍नुभयो, उहाँले एफ्राइमको कुललाई छान्‍नुभएन।

68तर उहाँले यहूदाको कुललाई चुन्‍नुभयो, सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो।

69उहाँले आफ्‍नो पवित्रस्‍थान उच्‍च स्‍वर्गझैँ बनाउनुभयो, र पृथ्‍वीजस्‍तै, जो उहाँले सदाको लागि स्‍थापित गर्नुभएको छ।

70उहाँले आफ्‍ना दास दाऊदलाई चुन्‍नुभयो, र तिनलाई भेड़ाहरूको गोठबाट लिनुभयो।

71भेड़ाहरूको रखवाली गर्ने कामबाट, उहाँले दाऊदलाई याकूबका सन्‍तान, र आफ्‍नो उत्तराधिकार इस्राएलको गोठालो हुनलाई ल्‍याउनुभयो।

72दाऊदले हृदयको ईमानदारीसाथ तिनीहरूलाई चराए, अनि निपुण हातले तिनीहरूको नेतृत्‍व गरे।

>