1आसापको भजन [1] हे परमेश्वर, जाति-जातिहरूले तपाईंको उत्तराधिकारलाई आक्रमण गरेका छन्। ⓑ तपाईंको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्। तिनीहरूले यरूशलेमलाई संहार पारिदिएका छन्।
2तपाईंका दासहरूका शव तिनीहरूले आकाशका पक्षीहरूलाई आहारको निम्ति दिएका छन्, तपाईंका पवित्र जनहरूका मासु जङ्गली जनावरहरूलाई दिएका छन्।
3तिनीहरूले उनीहरूको रगत पानीजस्तै यरूशलेमको चारैतिर बगाएका छन्, र उनीहरूलाई गाड्ने कोही छैनन्।
4हाम्रा छिमेकीहरूका निम्ति हामी निन्दाका पात्र हौं। अनि हाम्रा वरिपरि बस्नेहरूका हामी उपहासका र गिल्लाका पात्र हौं।
5कहिलेसम्म, हे परमेश्वर? के तपाईं हामीहरूसँग सधैँभरि क्रोधित भइरहनुहुन्छ? तपाईंको डाह आगोझैँ कतिसम्म दन्की नै रहनेछ?
6ती जातिहरू जसले तपाईंलाई स्वीकार गर्दैनन्, ती राज्यहरू जसले तपाईंलाई पुकार्दैनन्, तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्।
7किनभने तिनीहरूले याकूबलाई निलेका छन्, अनि तिनको वासस्थान उजाड पारेका छन्।
8हाम्रा पुर्खाहरूका पापको लेखा हामीहरूसँग नलिनुहोस्, तपाईंको कृपा हामीलाई चाँड़ै उपलब्ध होस्, किनकि हामी साह्रै खाँचोमा छौं।
9हामीलाई उद्धार गर्ने हे परमेश्वर, तपाईंका नाउँको महिमाको निम्ति हामीलाई सहायता दिनुहोस्। आफ्ना नाउँको खातिर हामीलाई छुटाउनुहोस्, र हाम्रा पाप क्षमा गर्नुहोस्।
10“तिनीहरूका परमेश्वर कहाँ छन्?” भनी जातिहरूले किन भनून्? हाम्रै आँखाको अगि तपाईंका दासहरूको बगाएका रगतको बदला तपाईं लिनुहुन्छ भन्ने जाति-जातिहरूलाई थाहा होस्।
11कैदीहरूको करुण-क्रन्दन तपाईंको सामु पुगोस्, तपाईंको बाहुलीको शक्तिद्वारा मृत्युदण्ड परेकाहरूको रक्षा गर्नुहोस्।
12हे परमप्रभु, जुन गिल्लाले तिनीहरूले तपाईंलाई अपमान गरेका छन्, त्यसका सात गुणा साटो हाम्रा छिमेकीहरूलाई फर्काइदिनुहोस्।
13तब हामी, जो तपाईंको प्रजा र तपाईंको खर्कका भेड़ाहरू हौं, तपाईंको सदासर्वदा प्रशंसा गर्नेछौं, हामी पुस्तौँ-पुस्तौँसम्म तपाईंका प्रशंसाको वर्णन गर्नेछौं।