1सङ्गीत-निर्देशकको निम्ति गित्तितअनुसार दाऊदको भजन [1] हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्तुतिगान उच्च स्वर्गमा हुँदछ।
2शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ, ⓢ तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।
3जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु,
4मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? ⓣ मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
5तपाईंले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो, र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
6आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ। ⓤ सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ—
7सबै भेड़ाबाख्रा र गाई-गोरु र वनका सबै पशुहरू,
8आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्तुहरू।
9हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईंको नाउँ कति गौरवमय छ!