भजनसंग्रह 81:1-16 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार आसापको भजन [1] परमेश्‍वरको निम्‍ति आनन्‍दले गाओ, उहाँ हाम्रो शक्ति हुनुहुन्‍छ, उच्‍च सोरले याकूबका परमेश्‍वरको जयजयकार गर।

2भजन गाओ, र खैँजड़ी बजाओ, सारङ्गीको साथ मीठो बज्‍ने वीणा पनि बजाओ।

3औंसीको दिन र पूर्णिमा अनि हाम्रो ठूलो चाड़को दिनमा तुरही बजाओ।

4इस्राएलको निम्‍ति यो एउटा विधि हो, याकूबका परमेश्‍वरको यो एउटा आदेश हो।

5जब उहाँ मिश्रदेशको विरुद्ध उठ्‌नुभयो, जहाँ हामीले नबुझ्‍ने भाषा सुन्‍यौं, उहाँले योसेफको निम्‍ति यो एउटा कानूनझैँ जारी गर्नुभयो।

6उहाँ भन्‍नुहुन्‍छ, “मैले तिनीहरूका काँधबाट भारी उतारिदिएँ,” डालोको बोझबाट तिनीहरूका हात मुक्त भए।

7दु:खमा पर्दा तिमीहरूले पुकार्‍यौ, र मैले तिमीहरूलाई छुटाएँ, बज्र पार्ने मेघबाट मैले तिमीहरूलाई उत्तर दिएँ, मेरीबाका पानीमा तिमीहरूलाई परीक्षा गरें।

7सेला

8“हे मेरा प्रजा, सुन र म तिमीहरूलाई चेताउनी दिनेछु— हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेका भए त।

9तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन, तिमीहरू कुनै पराई देवताको अगि झुक्‍नुहुँदैन।

10म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएँ। तिमीहरूको मुख पूरा खोल, र म त्‍यो भरिदिनेछु।

11तर मेरो प्रजाले मैले भनेको सुनेन। इस्राएलले मेरो अधीनमा रहन मानेन।

12यसकारण तिनीहरू आफ्‍नै युक्तिमा हिँडून्‌ भनेर मैले तिनीहरूलाई तिनीहरूकै मनको जिद्दीमा छोडिदिएँ।

13“मेरा प्रजाले मेरो सोर सुनेका भए त, इस्राएल मेरो मार्गमा हिँड़ेको भए त,

14म चाँड़ै तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका शत्रुहरूका विरुद्धमा म आफ्‍नो हात उठाउनेथिएँ!

15परमप्रभुलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्‍चिँदै लत्रक्‍क पर्नेथिए, तर उनीहरूको दण्‍ड सदाकाल रहनेथियो।

16तर म तिमीहरूलाई सबैभन्‍दा सर्वोत्तम गहूँ खुवाउनेथिएँ, र चट्टानको महले म तिमीहरूलाई तृप्‍त पार्नेथिएँ।”

>