भजनसंग्रह 83:1-18 NNRV2012 - Bible AI

1आसापको भजन [1] हे परमेश्‍वर! तपाईं मौन नरहनुहोस्‌, चूप नबस्‍नुहोस्‌, निष्‍क्रिय नहुनुहोस्‌, हे परमेश्‍वर!

2हेर्नुहोस्‌, तपाईंका शत्रुहरूमा निकै हलचल छ, तपाईंका शत्रुहरूले आफ्‍ना शिर कति ठाडा पारेका छन्‌।

3तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्‌यन्‍त्र रच्‍तछन्‌, र तिनीहरू तपाईंले कदर गरेकाहरूका विरुद्धमा मतो गर्छन्‌।

4तिनीहरू भन्‍छन्‌, “आओ, हामी उनीहरूको जातिलाई नाश गरौं, ताकि इस्राएल भन्‍ने नाउँको सम्‍झना नै नरहोस्‌।”

5तिनीहरू एक मत भएर षड्‌यन्‍त्र रच्‍छन्‌, तपाईंको विरुद्धमा तिनीहरू परस्‍पर सन्‍धि गर्छन्‌—

6एदोम र इश्‍माएलका निवासीहरू, मोआबीहरू र हग्री,

7गबाली, अम्‍मोनी, अमालेकी, पलिश्‍ती र टुरोसका निवासीहरू।

8र लोतका सन्‍तानहरूलाई सहायता दिनलाई अश्‍शूर पनि तिनीहरूसँग मिलेको छ।

8सेला

9मिद्यानीहरूलाई गर्नुभएझैँ व्‍यवहार तिनीहरूसँग गर्नुहोस्‌, सीसरा र याबीनलाई कीशोन खोलामा गर्नुभएझैँ,

10जो एन्‍दोरमा नष्‍ट भए, र जमिनका फोहोरसरि भए।

11तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैँ तुल्‍याउनुहोस्‌। तिनीहरूका सबै राजकुमारहरूलाई जेबह र सल्‍मुन्‍नाजस्‍तै बनाउनुहोस्‌,

12जसले भने, “परमेश्‍वरका खर्कमा हामी आफ्‍नो अधिकार जमाऔं।”

13हे मेरा परमेश्‍वर, तिनीहरूलाई यताउति पल्‍टाइने झार र बतासले उड़ाएको भुसझैँ तुल्‍याउनुहोस्‌।

14जसरी आगोले जङ्गल भस्‍म पार्छ, र ज्‍वालाले पहाड जलाइदिन्‍छ,

15त्‍यसरी आफ्‍नो प्रचण्‍ड आँधीले तिनीहरूलाई खेद्‌नुहोस्‌, र तपाईंको आँधीबेहरीले तिनीहरू भयभीत पार्नुहोस्‌।

16तिनीहरूका अनुहार लाजले छोपिदिनुहोस्‌, र हे परमप्रभु, मानिसहरूले तपाईंका नाउँको खोजी गरून्‌।

17तिनीहरू सधैँ शर्ममा परून्‌, र अतासले भरिऊन्‌। तिनीहरू अपमानमा नष्‍ट भइजाऊन्‌।

18तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु हो, तपाईं मात्र सारा पृथ्‍वीमा सर्वोच्‍च हुनुहुन्‍छ।

>