भजनसंग्रह 84:1-12 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार कोरहवंशीको भजन [1] हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईंको वासस्‍थान कति मनोहर छ।

2परमप्रभुका मन्‍दिरको निम्‍ति मेरो प्राण इच्‍छुक छ, र मूर्च्‍छै पनि पर्छ। मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्‍वरको पुकारा गर्दछ।

3हे सर्वशक्तिमान्‌ परमप्रभु, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बसेरा पाउँछे, अनि गौँथलीले गुँड़ बनाउँछे, जहाँ आफ्‍ना बचेरोहरूलाई राख्‍छे।

4तपाईंको वासस्‍थानमा बस्‍ने धन्‍यका हुन्‌, तिनीहरू सदैव तपाईंको प्रशंसा गर्छन्‌।

4सेला

5तिनीहरू धन्‍यका हुन्‌, जसको बल तपाईंमा छ, जसले आफ्‍ना हृदयमा सियोन जाने निधो गरेका छन्‌।

6तिनीहरू बाकाको बेँसी भएर जाँदा, तिनीहरूले त्‍यसलाई जलस्रोत बनाउँछन्‌, शरद्‌ ऋतुको वर्षाले त्‍यहाँ तलाउहरू बन्‍दछन्‌।

7तिनीहरूले बलमाथि बल प्राप्‍त गर्छन्‌, जबसम्‍म प्रत्‍येक सियोनमा परमेश्‍वरको सामुन्‍ने उपस्‍थित हुनेछैन।

8हे परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्‌। हे याकूबका परमेश्‍वर, मेरो कुरा सुन्‍नुहोस्‌।

8सेला

9हे परमेश्‍वर, हाम्रो ढाल हेर्नुहोस्‌, र आफ्‍ना अभिषिक्तमाथि निगाह राख्‍नुहोस्‌।

10तपाईंको मन्‍दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्‍दा उत्तम छ। दुष्‍टहरूका पालमा बस्‍नुभन्‍दा बरु मेरा परमेश्‍वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।

11किनकि परमप्रभु परमेश्‍वर सूर्य र ढाल हुनुहुन्‍छ, परमप्रभुले निगाह र इज्‍जत प्रदान गर्नुहुन्‍छ। सत्‍य मार्गमा हिँड्‌नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्‍चित राख्‍नुहुन्‍न।

12हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईंमा भरोसा राख्‍ने मानिस धन्‍यको हो।

>