भजनसंग्रह 85:1-13 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति कोरहवंशीको भजन [1] आफ्‍नो देशमाथि तपाईंले कृपा देखाउनुभयो, हे परमप्रभु, तपाईंले याकूबको सुख-शान्‍ति फर्काइदिनुभयो।

2आफ्‍ना जनहरूको अधर्म तपाईंले क्षमा गर्नुभयो, तपाईंले तिनीहरूका सबै पाप ढाक्‍नुभयो।

2सेला

3तपाईंले आफ्‍नो सबै रोष पन्‍छाउनुभयो, अनि आफ्‍नो दन्‍कँदो क्रोधबाट तपाईं फर्कनुभयो।

4हे हाम्रा उद्धार गर्ने परमेश्‍वर, हामीलाई पुनर्स्‍थापित गर्नुहोस्‌, र हामीप्रतिका तपाईंको अप्रसन्‍नता हटाइदिनुहोस्‌।

5के तपाईं हामीसित सधैँ क्रोधित रहनुहुन्‍छ? के तपाईं पुस्‍ता-पुस्‍तासम्‍म हामीसँग क्रोध गरी नै रहनुहुन्‍छ?

6के तपाईंका प्रजा तपाईंमा रमाऊन्‌ भनेर हामीलाई पुनर्जागृत बनाउनुहुन्‍न?

7हे परमप्रभु, हामीलाई आफ्‍नो कहिल्‍यै नटुङ्गिने प्रेम देखाउनुहोस्‌, र हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्‌।

8परमप्रभु परमेश्‍वरले के भन्‍नुहुन्‍छ, सो म सुन्‍नेछु। उहाँले आफ्‍नो प्रजासँग, आफ्‍ना पवित्र जनहरूसँग शान्‍तिको प्रतिज्ञा गर्नुहुन्‍छ, तर तिनीहरू फेरि मूर्खतातिर नलागून्‌।

9निश्‍चय नै उहाँसँग भय मान्‍नेहरूका नजिकै उहाँको उद्धार छ, र उहाँको महिमा हाम्रो देशमा वास गरोस्‌।

10प्रेम र विश्‍वस्‍तता आपसमा मिल्‍छन्‌, धार्मिकता र शान्‍तिले एक-अर्कोलाई चुम्‍बन गर्छन्‌।

11धरतीबाट विश्‍वस्‍तताको अङ्‌कुर निस्‍कन्‍छ, र धार्मिकताले चाहिँ स्‍वर्गबाट तल हेर्दछ।

12जे असल छ, परमप्रभुले त्‍यही दिनुहुनेछ, र हाम्रो जमिनले फसल उमार्नेछ।

13धार्मिकताचाहिँ उहाँको अगिअगि जान्‍छ, र उहाँको निम्‍ति एउटा मार्ग तयार गर्छ।

>