भजनसंग्रह 86:1-17 NNRV2012 - Bible AI

1दाऊदको प्रार्थना [1] हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌ र उत्तर दिनुहोस्‌, किनभने म दरिद्र र अभावग्रस्‍त छु।

2मेरो रक्षा गरिदिनुहोस्‌, किनकि म तपाईंको भक्त हुँ। तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, तपाईंको सेवकलाई बचाउनुहोस्‌, जसले तपाईंमाथि भरोसा गर्दछ।

3हे परमप्रभु, ममाथि दया गर्नुहोस्‌, किनकि म दिनभरि तपाईंको पुकारा गरिरहन्‍छु।

4आफ्‍नो दासलाई हर्षित पार्नुहोस्‌, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंतिर उचाल्‍दछु।

5हे परमप्रभु, तपाईं भला र क्षमाशील हुनुहुन्‍छ, र तपाईंलाई पुकारा गर्नेहरू सबैलाई तपाईंको प्रेम प्रशस्‍त रहन्‍छ।

6हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्‌, र दयाको निम्‍ति मेरो विनयको आवाजलाई सुन्‍नुहोस्‌।

7मेरो सङ्कष्‍टको दिनमा म तपाईंलाई पुकारा गर्छु, किनकि तपाईंले उत्तर दिनुहुन्‍छ।

8हे परमप्रभु, देवहरूमा तपाईं समान अरू कोही छैनन्‌, तपाईंका कार्यहरूजस्‍ता अरू कसैको छैनन्‌।

9हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जातिहरू तपाईंको अगि झुक्‍नेछन्‌, र तिनीहरूले तपाईंका नाउँको आराधना गर्नेछन्‌।

10किनकि तपाईं महान्‌ हुनुहुन्‍छ र आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। तपाईं एकमात्र परमेश्‍वर हुनुहुन्‍छ।

11हे परमप्रभु, मलाई तपाईंका मार्गको शिक्षा दिनुहोस्‌, र म तपाईंको सत्‍यतामा हिँड्‌नेछु। मलाई एकाग्र हृदय दिनुहोस्‌, र म तपाईंका नाउँको भय मानूँ।

12हे परमप्रभु मेरा परमेश्‍वर, मेरो सम्‍पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र म सदासर्वदा तपाईंका नाउँको महिमा गर्नेछु।

13किनकि मप्रति तपाईंको प्रेम महान्‌ छ, तपाईंले मेरो प्राणलाई पातालको गहिराइबाट छुटाउनुभएको छ।

14हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेछन्‌, र निष्‍ठुर मानिसहरूको दल मेरो ज्‍यानको पछि लागेको छ, ती मानिसहरू जसले तपाईंलाई सम्‍झना गर्दैनन्‌।

15तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्‍वर हुनुहुन्‍छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्‍वस्‍ततामा प्रशस्‍त हुनुहुन्‍छ।

16मतिर फर्कनुहोस्‌, र ममाथि दया गर्नुहोस्‌, आफ्‍नो दासलाई तपाईंको शक्ति दिनुहोस्‌, र आफ्‍नी दासीको छोरालाई बचाउनुहोस्‌।

17तपाईंका उदारताको एउटा चिन्‍ह मलाई दिनुहोस्‌, र मलाई घृणा गर्नेहरू त्‍यो देखेर शर्ममा परून्‌, किनकि हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ, र सान्‍त्‍वना दिनुभएको छ।

>