भजनसंग्रह 88:1-18 NNRV2012 - Bible AI

1सङ्गीत-निर्देशकको निम्‍ति महलत-लिन्‍नोतअनुसार एज्री हेमानको मस्‍किल [1] हे परमप्रभु मेरा परमेश्‍वर, जसले मेरो उद्धार गर्नुहुन्‍छ। दिनरात तपाईंलाई म दुहाई गर्छु।

2मेरो प्रार्थना तपाईंको सामुन्‍ने पुगोस्‌, मेरो क्रन्‍दनतिर कान फर्काउनुहोस्‌।

3किनकि मेरो प्राण दु:खले भरिएको छ, अनि मेरो जीवन चिहानको छेवैमा पुगेको छ।

4मृत-लोकमा जानेहरूसँगसँगै मेरो गन्‍ती भएको छ, ताकतै नभएको मानिसजस्‍तै म भएको छु।

5म मुर्दाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्‍तै जो चिहानमा सुत्‍छन्‌, जसलाई तपाईं कहिल्‍यै सम्‍झनुहुन्‍न, जुनहरू तपाईंको हेरचाहबाट त्‍यागिएका छन्‌।

6तपाईंले मलाई मृत-लोकको तल्‍लो भागमा, अति अन्‍धकारमय गहिराइमा राख्‍नुभएको छ।

7तपाईंको क्रोधले मलाई दबाएर राखेको छ, र तपाईंले आफ्‍ना सबै छालहरूले मलाई व्‍याकुल तुल्‍याउनुभएको छ।

7सेला

8मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ। तपाईंले मलाई तिनीहरूको लेखामा घृणित तुल्‍याउनुभएको छ। म थुनिएको छु, र म उम्‍कन सक्‍दिनँ।

9शोकले मेरा आँखा धमिला हुन्‍छन्‌। हे परमप्रभु, म दिनहुँ तपाईंलाई पुकारा गर्दछु, म मेरा हात तपाईंतिर पसार्छु।

10के तपाईं मुर्दाहरूलाई आफ्‍ना आश्‍चर्यकर्म देखाउनुहुन्‍छ? के ती मरेकाहरू जीवित भएर तपाईंको स्‍तुति गर्छन्‌ र?

10सेला

11के चिहानमा तपाईंको प्रेम, अथवा विनाशमा तपाईंका विश्‍वस्‍तताको घोषणा गरिन्‍छ?

12के तपाईंका आश्‍चर्य कामहरू अन्‍धकारको स्‍थानमा, र तपाईंको धार्मिकताका कार्यहरू विस्‍मृतिको देशमा प्रकट गरिन्‍छन्‌ र?

13तर हे परमप्रभु, म त तपाईंमा नै पुकारा गर्दछु, र बिहानै मेरो प्रार्थना तपाईंको सामुन्‍ने आउँछ।

14हे परमप्रभु, तपाईं मलाई किन इन्‍कार गर्नुहुन्‍छ? आफ्‍नो मुहार मबाट किन लुकाउनुहुन्‍छ?

15युवावस्‍थादेखि नै म दु:खमा परेको छु, र मर्न लागेको छु तपाईंका त्रासबाट म पीडित छु, र म निराश भएको छु।

16तपाईंको क्रोध ममाथि खनिएको छ, तपाईंका त्रासहरूले मलाई नष्‍ट पारेका छन्‌।

17तिनीहरूले बाढ़ले झैँ सारा दिन मलाई घेरिराखेका छन्‌, चारैपट्टिबाट तिनीहरूले मलाई छोपिसके।

18तपाईंले मेरा साथीहरू र मेरा प्रेमीहरूलाई मबाट लैजानुभयो। अन्‍धकार मेरो घनिष्‍ठ मित्र भएको छ।

>