1प्रभुभक्त मोशाको प्रार्थना [1] हे परमप्रभु, पुस्तादेखि पुस्तासम्म तपाईं हाम्रो वासस्थान हुनुभएको छ।
2पहाड़हरू उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ।
3तपाईं मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र भन्नुहुन्छ, “ए मानिसका सन्तान हो, धूलोमा फर्किजाओ।”
4किनकि तपाईंको दृष्टिमा एक हजार वर्ष ⓞ हिजो बिताएको एक दिनजस्ता मात्र छन्, अथवा रातको एक पहरजस्तै।
5तपाईंले मानिसहरूलाई मृत्युको निद्रामा बगाइलानुहुन्छ। तिनीहरू बिहान पलाउने घाँसजस्तै छन्।
6यद्यपि त्यो बिहान मौलाउँछ, बेलुकी त्यो सुक्छ र ओइलिन्छ।
7हामी तपाईंको क्रोधमा भस्म भएका छौं, र तपाईंको आक्रोशमा हामी आतङ्कित हुन्छौं।
8तपाईंले हाम्रा अधर्म आफ्नै सामुन्ने राख्नुभएको छ, हाम्रा गुप्त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्।
9हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्दछन्, सुस्केरामा हामी आफ्ना वर्षहरू बिताउँदछौं।
10हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला। तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँड़ै बित्छ, र हामी उड़िजान्छौं।
11तपाईंका क्रोधको शक्ति कसले जान्दछ? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ।
12हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं।
13हे परमप्रभु, नम्र हुनुहोस्, अझै कति बेर लाग्ने हो? आफ्ना दासहरूमाथि दया गर्नुहोस्।
14बिहान आफ्नो नटल्ने करुणाले हामीलाई तृप्त पार्नुहोस्, र हामी आफ्ना जीवनभरि रमाएर गाउन सकौं।
15जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो, र जति वर्ष दु:ख भोग्यौं, त्यत्ति दिन हामीलाई आनन्दित तुल्याउनुहोस्।
16तपाईंका कार्य तपाईंका सेवकहरूलाई प्रदर्शन गरिऊन्, र तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्।
17हाम्रा परमप्रभु परमेश्वरको निगाह हामीमाथि रहोस्, र हाम्रा हातका कामहरू हाम्रा निम्ति दृढ़ पारिऊन्। हो, हाम्रा हातका कामहरू सुदृढ़ पारिदिनुहोस्।