1जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ।
2परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।”
3निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले छोप्नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन।
8तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ।
9यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ—
10तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, ⓟ तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, ⓠ नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्।
13तिमीले सिंह र गोमनलाई कुल्चनेछौ, ⓡ जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
14परमप्रभु भन्नुहुन्छ, “त्यसले मलाई प्रेम गरेको हुनाले, म त्यसलाई छुटाउनेछु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु।
15त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
16लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु, र त्यसलाई म उद्धारको दर्शन दिनेछु।”