1परमप्रभुले राज्य गर्नुहुन्छ, पृथ्वी हर्षित होस्, टाढ़ाका किनार-किनारहरू पनि आनन्दित होऊन्।
2उहाँको वरिपरि बादल र घोर अन्धकार छन्, धार्मिकता र न्याय उहाँको सिंहासनका जग हुन्।
3उहाँको अगिअगि आगो जान्छ, र उहाँको चारैपट्टिका विरोधीहरूलाई भस्म पार्छ।
4उहाँको बिजुलीले संसारलाई प्रकाशित पार्छ, पृथ्वीले देख्छ र थरथरी काम्छ।
5परमप्रभुको सामुन्ने पर्वतहरू मैनझैँ पग्लन्छन्, सारा पृथ्वीका स्वामीको सामुन्ने।
6स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, सबै मानिसहरूले उहाँका महिमाको दर्शन गर्छन्।
7मूर्तिपूजा गर्नेहरू सबै लाजमा पारिनेछन्, मूर्तिहरूमा गर्व गर्नेहरू सबै शर्ममा पर्नेछन्। सबै देवगण हो, उहाँको आराधना गर।
8तपाईंका न्यायको कारण हे परमप्रभु, सियोनले सुन्छ र आनन्दित हुन्छ, र यहूदाका गाउँहरू हर्षित हुन्छन्।
9किनकि हे परमप्रभु, सारा पृथ्वीभन्दा तपाईं नै अति उच्च हुनुहुन्छ, तपाईं सबै देवहरूमाथि अत्यन्त उच्च हुनुहुन्छ।
10परमप्रभुलाई प्रेम गर्ने सबैले खराबीलाई घृणा गरून्। किनकि उहाँले आफ्ना भक्तजनहरूको प्राण रक्षा गर्नुहुन्छ, र दुष्टहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुन्छ।
11धर्मीहरूमाथि ज्योति प्रकाशमान हुन्छ, अनि हृदयमा सोझा भएकाहरूका निम्ति आनन्द।
12हे धर्मी हो, परमप्रभुमा आनन्द मनाओ, र उहाँको पवित्र नाउँको प्रशंसा गर।