21“भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन्।
22मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ। ⓖ
23जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन् तब अर्कोमा भाग। किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ।
24“चेला आफ्ना गुरुभन्दा र कमारो आफ्ना मालिकभन्दा श्रेष्ठ हुँदैन। ⓗ
25चेला आफ्ना गुरुजस्तो र कमारो आफ्ना मालिकजस्तो हुनु यथेष्ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, उनका परिवारकाहरूलाई झन् कति बढ़ी भन्लान्? ⓘ
26“यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन। ⓙ
27जे म तिमीहरूलाई अन्धकारमा भन्दछु, त्यो तिमीहरूले उज्यालोमा भनिदेओ, र जे तिमीहरूले कानमा सुन्छौ, त्यो घरका धुरीहरूबाट प्रचार गर।
28तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
29के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन।
30तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्।
31यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता मूल्यवान् छौ।
32“यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु।
33तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु। ⓚ
34“म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।
35किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ। ⓛ
36मानिसका शत्रु उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्।
37“जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढ़ी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
38जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। ⓜ
39जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ। ⓝ
40“तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। ⓞ
41अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।
42जसले यी सानाहरूमध्ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले आफ्नो इनाम कदापि गुमाउनेछैन।”