मत्ती 2:1-23 NNRV2012 - Bible AI

1हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,

2“यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”

3जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो।

4अनि तिनले सबै मुख्‍य पूजाहारीहरू र जनताका शास्‍त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्‍म कहाँ हुने हो?” भनी सोधपूछ गरे।

5तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्‌:

6‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्‍किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।”

7तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।

8तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।”

9तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो।

10जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।

11अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।

12अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।

13तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्‍म त्‍यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।”

14अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले,

15र हेरोदको मृत्‍यु नहोउञ्‍जेल त्‍यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्‍ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।”

16तब ज्‍योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्‍योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्‍यस इलाका भित्रका दुई वर्ष र त्‍यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए।

17तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो,

18“रामामा एउटा शब्‍द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना तिनले इन्‍कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्‌।”

19तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्‍वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने,

20“उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्‍नेहरू मरिसकेका छन्‌।”

21तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के।

22तर यहूदियामा आफ्‍ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्‍य गरिरहेका छन्‌ भन्‍ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए।

23तिनी गएर नासरत भन्‍ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>