1त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए।
2तर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूले यी सब देख्छौ, होइन त? साँच्चै, म तिमीहरूलाई भन्छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्येक भत्काएर फालिनेछ।”
3येशू जैतून डाँड़ामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?”
5किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्।
6तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन।
7किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्।
8तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
9“तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। ⓜ
10तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ।
11धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्।
12दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
13तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ। ⓝ
14अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।
15“यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्), ⓞ
16तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्।
17कौसीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरून्। ⓟ
18खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआऊन्।
19हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।
20तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर।
21किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। ⓠ
22ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्नेथिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।
23तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्ट यहाँ छन्, कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर।
24किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्।
25याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।
26“यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनी भन्छन् भने बाहिर निस्केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्वास नगर। ⓡ
27किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।
28जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्। ⓢ
29“ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्। ⓣ
30तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्। ⓤ
31उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।
32“तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।
33त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।
34साँच्चै, म तिमीहरूलाई भन्दछु, कि यी सबै पूरा नहोउञ्जेल यो पुस्ता बितिजानेछैन।
35स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्।
36“तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले।