1बिहान सबेरै, सबै मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरुद्धमा सरसल्लाह गरे।
2अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्पिदिए।
3तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्डाज्ञा भएको देखिकन पछुतो गर्यो, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्का फिर्ता दिन ल्यायो,
4र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।”
5तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो, र त्यसले झुण्डेर आत्महत्या गर्यो।
6तर मुख्य पूजाहारीहरूले चाँदीका ती सिक्काहरू लिएर भने, “ढुकुटीमा यो राख्न उचित छैन, किनकि यो रगतको मोल हो।”
7तिनीहरूले आपसमा सल्लाह गरेर त्यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने।
8यसैकारण त्यो जमिन आजसम्म पनि रगतको जमिन कहलाइन्छ।
9तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्का लिए, त्यस मूल्यको रूपमा, जुन मूल्य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए,
10र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्ति तिनीहरूले दिए।”
11येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
12अनि मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन।
13तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ?”
14तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्क परे।
15निस्तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो।
16त्यस बेला बारब्बा नाउँ भएको एक जना कुख्यात कैदी थियो।
17जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ? बारब्बा कि ख्रीष्ट भनिने येशूलाई?”
18किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो।
19तब न्याय-आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्, “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।”
20तर मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्बालाई छोडिदिने र येशूलाई मृत्युदण्ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्याए।
21हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?”
22पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ त?”
23तिनले भने, “किन? तिनले के अपराध गरेका छन् र?”
24तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।”
25सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस्।”
26तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए।
27तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए।
28तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए।
29तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”
30तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए।
31उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रूसमा झुण्ड्याउन लगे।
32जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्यसलाई उहाँको क्रूस बोक्न कर लाए।
33जब तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्थान भनिन्छ,
34तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्यो पिउन चाहनुभएन।
35तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्त्रहरू आपसमा बाँड़े।
36तब त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे।
37“येशू, यहूदीहरूको राजा “भन्ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए।
38उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि।
39त्यहाँबाट आउने-जानेहरूले आ-आफ्नो मुन्टो हल्लाएर उहाँको गिल्ला गरे,
40र भने, “ए मन्दिर भत्काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्वरको पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइज।”
41मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्ला गर्दै भने,
42“यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्वास गर्नेछौं।
43यसले परमेश्वरमा भरोसा राख्छ। परमेश्वरले यसलाई चाहनुहुन्छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्वरको पुत्र हुँ,’ भनी भन्थ्यो।”
44अनि उहाँसँग क्रूसमा झुण्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।
45अब मध्याह्नदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो।
46तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो,
47त्यहाँ उभिएकाहरूमध्ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।”
48तिनीहरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो।
49तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन् कि?”
50तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो।
51त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे।
52चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे,
53र तिनीहरू चिहानहरूबाट निस्के, र मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।
54जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्।”
55त्यहाँ गालीलबाट आएका धेरै स्त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए।
56तिनीहरूमध्ये मरियम मग्दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए।
57साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्वयम् येशूका चेला थिए।
58तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे।
59योसेफले मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे,
60र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए।
61चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम पनि बसिरहेका थिए।
62भोलिपल्ट, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए,
63र भने, “हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो।
64यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्रता त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान्, र ‘त्यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्लो धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।”
65पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख।”
66तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।