मत्ती 28:1-20 NNRV2012 - Bible AI

1शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्‍यालो हुँदा मरियम मग्‍दलिनी र अर्की मरियम चिहान हेर्न आए।

2ठूलो भूकम्‍प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्‍यसमाथि बसे।

3तिनको रूप बिजुलीजस्‍तो र पोशाक हिउँजस्‍तो सेतो थियो।

4तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्‍य भए।

5तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ।

6उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।

7तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्‍दा अगाडि गालीलमा जाँदैहुनुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍यहाँ देख्‍नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”

8अनि तिनीहरू डर र अति आनन्‍दसँग झट्टै चिहानबाट निस्‍केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।

9अकस्‍मात्‌ येशूले तिनीहरूलाई भेटेर भन्‍नुभयो, “शान्‍ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्‍डवत्‌ गरे।

10तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्‍यहाँ तिनीहरूले मलाई देख्‍नेछन्‌।”

11जब ती स्‍त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्‍य पूजाहारीलाई त्‍यहाँ भएका घटनाहरूका बारेमा खबर दिए।

12जब मुख्‍य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्‍लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,

13“तिमीहरूले भन्‍नू, कि ‘हामी सुतिरहेको बेला त्‍यसका चेलाहरू आएर त्‍यसलाई चोरेर लगेछन्‌।’

14कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।”

15तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।

16ती एघारै जना चेलाहरू गालीलको त्‍यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो।

17तिनीहरूले उहाँलाई देखेर दण्‍डवत्‌ गरे, तर कतिले चाहिँ शङ्का गरे।

18तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।

19यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,

20मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>