मत्ती 3:1-17 NNRV2012 - Bible AI

1त्‍यही समय बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्‍थानमा आए, र यसो भन्‍दै प्रचार गर्न लागे,

2“पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आएको छ।”

3किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो:

3“उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”

4यूहन्‍नाले ऊँटका रौँको वस्‍त्र लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे। तिनको खानेकुरा सलह र वन-मह थियो।

5यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए,

6र आफ्‍ना पाप स्‍वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्‍तिस्‍मा लिन लागे।

7तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो?

8यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ।

9अब्राहाम नै हाम्रा पिता हुनुहुन्‍छ भनी आपसमा भन्‍ने नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ।

10अहिले नै रूखको फेदमा बन्‍चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।

11“मचाहिँ त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर मपछि आउनुहुने मभन्‍दा अझ शक्तिशाली हुनुहुन्‍छ, जसका जुत्ता बोक्‍ने योग्‍यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ।

12उहाँको निफन्‍ने नाङ्‌लो उहाँकै हातमा छ, र उहाँले आफ्‍ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्‍नो गहूँ धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”

13तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा बप्‍तिस्‍मा लिन यर्दनमा आउनुभयो।

14तर यूहन्‍नाले यसो भनेर उहाँलाई रोक्‍न खोजे, “बरु मलाई पो तपाईंबाट बप्‍तिस्‍मा लिनु आवश्‍यक छ, र के तपाईं मकहाँ आउनुहुने?”

15तर येशूले तिनलाई भन्‍नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्‍ना राजी भए।

16अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो।

17तब स्‍वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>