मत्ती 9:1-38 NNRV2012 - Bible AI

1त्‍यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्‍नो सहरमा आउनुभयो।

2मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्‍याए। येशूले तिनीहरूको विश्‍वास देखेर पक्षाघातीलाई भन्‍नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।”

3शास्‍त्रीहरूमध्‍ये कतिले आपसमा भने, “यिनी परमेश्‍वरको निन्‍दा गर्दैछन्‌।”

4येशूले तिनीहरूको विचार बुझेर भन्‍नुभयो, “तिमीहरू किन आफ्‍ना हृदयमा दुष्‍ट विचार गर्दछौ?

5किनकि के भन्‍नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्‍नु कि ‘उठ र हिँड़’ भन्‍नु?

6तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”

7अनि त्‍यो उठ्यो, र आफ्‍नो घरतिर लाग्‍यो।

8जब भीड़ले यो देख्‍यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्‍तो शक्ति दिनुहुने परमेश्‍वरको प्रशंसा गरे।

9येशू त्‍यहाँबाट जानुहुँदा मत्ती भन्‍ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्‍नुभयो, र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।

10उहाँ खान बस्‍नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे।

11जब फरिसीहरूले त्‍यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्‍छन्‌?”

12यो सुनेर उहाँले भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्‍यकता हुँदैन, तर रोगीहरूलाई हुन्‍छ।

13तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्‍छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”

14तब यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्‍तछौं, तर तपाईंका चेलाहरू उपवास बस्‍दैनन्‌?”

15येशूले तिनीहरूलाई भन्‍नुभयो, “जबसम्‍म दुलहा जन्‍तीहरूसँग रहन्‍छन्, के तिनीहरू शोक मनाउँछन्‌ र? तर ती दिन आउनेछन्‌ जब दुलहा तिनीहरूबाट लगिनेछन्‌। तब तिनीहरू उपवास बस्‍नेछन्‌।

16 “कसैले पुरानो वस्‍त्रमा नयाँ कपड़ाको टालो टाल्‍दैन। किनकि नयाँ टालोले वस्‍त्रलाई फटाउँछ, र वस्‍त्र झन्‌ बढ़ी फाट्‌छ।

17कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्‍दैन, नत्रता मशक फुट्‌छ, र दाखमद्य पोखिन्‍छ, र मशक नष्‍ट हुन्‍छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्‍छ, र दुवै जोगिन्‍छन्‌।”

18जब उहाँले तिनीहरूलाई यी कुरा भन्‍दैहुनुहुन्‍थ्‍यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्‍डवत्‌ गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्‍यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्‍यो जीवित हुनेछे।”

19येशू उठ्‌नुभयो र आफ्‍ना चेलाहरूसँग तिनको पछि लाग्‍नुभयो।

20त्‍यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्‍त्रीले पछिल्‍तिरबाट आएर उहाँका वस्‍त्रको किनार छोई।

21किनकि त्‍यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।”

22फनक्‍क फर्की हेर्दा येशूले त्‍यस स्‍त्रीलाई देख्‍नुभयो, र भन्‍नुभयो, “छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” त्‍यो स्‍त्री त्‍यही घड़ी निको भई।

23अनि जब येशू शासकको घरमा आइपुग्‍नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्‍नुभयो।

24उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे।

25भीड़लाई बाहिर निकाल्‍नुभएपछि उहाँ भित्र पस्‍नुभयो, र त्‍यस ठिटीको हात समात्‍नुभयो, अनि त्‍यो ठिटी जुरुक्‍क उठी।

26तब यस कुराको कीर्ति त्‍यस मुलुकभरि फिँजियो।

27येशू त्‍यहाँबाट जानुहुँदा दुई जना अन्‍धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌” भनी कराउँदै उहाँको पछिपछि लागे।

28उहाँ घरमा पस्‍नुभएपछि ती अन्‍धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्‍छु भनी के तिमीहरू विश्‍वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्‍यू, प्रभु।”

29तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्‌।”

30अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्‌।”

31तर तिनीहरू गए, र त्‍यस इलाकाभरि उहाँको कीर्ति फिँजाए।

32जब उहाँहरू निस्‍केर जाँदैहुनुहुन्‍थ्‍यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्‍याइयो।

33भूत निकालिएपछि त्‍यो गूँगो बोल्‍यो। अनि “इस्राएलमा कहिल्‍यै यस्‍तो देखिएन” भन्‍दै भीड छक्‍क पर्‍यो।

34तर फरिसीहरू भन्‍न लागे, “भूतहरूका मालिकद्वारा त्‍यसले भूत निकाल्‍दछ।”

35येशू समस्‍त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्‌नुभयो।

36तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्‍तै हैरान र असहाय भएका थिए।

37तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “फसल प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌।

38यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>