1त्यस ठाउँलाई छोड़ेर यर्दन नदीको पारि यहूदियाको इलाकामा येशू जानुभयो र भीड उहाँकहाँ भेला भयो, अनि उहाँको रीतिअनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो।
2फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु न्यायसङ्गत छ?
3उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?”
4तिनीहरूले भने, “एउटा त्यागपत्र लेखेर मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्न सक्छ भनी मोशाले अनुमति दिएका छन्।” ⓕ
5तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए।
6तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो।ⓖ
7‘यसैकारण मानिस आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, ⓗ
8र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्।
9यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।”
10घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे।
11उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले आफ्नी पत्नीसँग विवाहविच्छेद गरेर अर्कीसँग विवाह गर्छ, त्यसले तिनको विरुद्ध व्यभिचार गर्छ। ⓘ
12अनि यदि स्त्रीले आफ्नो पतिसँग विवाहविच्छेद गरेर अर्कोसँग विवाह गर्छे भने, तिनले व्यभिचार गर्छे।”
13मानिसहरूले साना बाल-बालिकाहरूलाई येशूले छोइदेऊन् भन्ने उद्देश्यले उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे।
14तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
15साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन, त्यो कदापि त्यसभित्र पस्नेछैन।” ⓙ
16अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो।
17येशू बाटोमा जाँदैहुनुहुँदा, एक जना मानिस दौड़ेर आई उहाँको अगि घुँड़ा टेक्यो, र उहाँलाई सोध्यो, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”
18येशूले त्यसलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वरबाहेक अरू कोही असल छैन।
20अनि त्यसले उहाँलाई भन्यो, “गुरुज्यू, यी सबै त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।”
21येशूले त्यसलाई हेर्नुभयो, र त्यसलाई माया गरेर भन्नुभयो, “तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ, र तिम्रा जे-जति छन् बिक्री गर र गरीबहरूलाई देऊ, र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ। अनि आएर मेरो पछि लाग।”
22तर यस कुराले त्यसको अनुहार उदासिलो भयो, र त्यो दुःखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन-सम्पत्ति थियो।
24उहाँले भन्नुभएको यस कुरामा चेलाहरूले अचम्म माने। तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “बालक हो, धनसम्पत्तिमाथि भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यभित्र पस्नु कति कठिन छ।
26तिनीहरू ज्यादै अचम्मित भए र उहाँलाई भने, “त्यसो भए को बाँच्न सक्छ?”
27येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ।”
28पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।”
29येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्गाजमिन छोड्छ,
30त्यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन।
31तर धेरै पहिला हुनेहरू पछिल्ला, र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन्।” ⓛ
32उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, र येशू तिनीहरूका अगिअगि हिँड़िरहनुभएको थियो। चेलाहरू अचम्मित थिए, र अरू पछिपछि आउनेहरू भयभीत थिए। तब उहाँले बाह्रै चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परिआउने कुराहरू तिनीहरूलाई सुनाउनुभयो।
33उहाँले भन्नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं। त्यहाँ मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूकहाँ सुम्पिदिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्, र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्।
34अनि तिनीहरूले उसलाई गिल्ला गर्नेछन् र उसलाई थुक्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र उसलाई मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
35जब्दियाका दुई छोराहरू, याकूब र यूहन्ना उहाँकहाँ आएर भने, “गुरुज्यू, हामी तपाईंसँग जे माग्छौं तपाईंले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हाम्रो इच्छा छ।”
36उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूका निम्ति म के गरिदिऊँ भन्ने तिमीहरूको इच्छा छ?”
37तिनीहरूले उहाँलाई भने, “तपाईंको महिमामा हामीमध्ये एक जना तपाईंको दाहिनेपट्टि र अर्को तपाईंको देब्रेपट्टि बस्न पाउने मन्जूरी हामीलाई दिनुहोस्।”
38तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ। के जुन कचौरा म पिउँछु, त्यो तिमीहरू पिउन सक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?” ⓜ
39तिनीहरूले उहाँलाई भने, “हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “जुन कचौरा म पिउँछु त्यो तिमीहरू पिउनेछौ, र जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिनेछौ।
40तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्न दिनुचाहिँ मैले दिने होइन, यो त जस-जसको निम्ति तयार भइराखेको छ, तिनीहरूकै निम्ति हो।”
41यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रिसाए।
42तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू जान्दछौ कि अन्यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। ⓝ
43तिमीहरूमा चाहिँ त्यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्दछ। ⓞ
44अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ।
45किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।”
46त्यसपछि उहाँहरू यरीहोमा आउनुभयो, र उहाँ आफ्ना चेलाहरू र ठूलो भीड़सहित यरीहोबाट निस्कनुहुँदा तिमैको छोरो बारतिमै, एक जना अन्धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो।
47जब त्यसले उहाँ नासरतका येशू हुनुहुन्छ भन्ने सुन्यो, तब कराएर त्यसले भन्न लाग्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्।”
48तब धेरैले त्यसलाई चूप लागोस् भनेर हप्काए। तर त्यो झन् चर्को गरी कराउन लाग्यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्।”
49तब येशू टक्क अड़िनुभयो र भन्नुभयो, “त्यसलाई बोलाओ।”अनि तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, “ढाड़स गर्, उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।”
50अनि आफ्नो खास्टो फालेर त्यो जुरुक्क उठ्यो र येशूकहाँ आयो।
51येशूले त्यसलाई भन्नुभयो, “तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरूँ?”त्यस अन्धो मानिसले उहाँलाई भन्यो, “रब्बी, म दृष्टि पाऊँ।”
52अनि येशूले त्यसलाई भन्नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्तै त्यसले दृष्टि पायो, र बाटोमा येशूको पछिपछि लाग्यो।