मर्कूस 13:1-37 NNRV2012 - Bible AI

1जब उहाँ मन्‍दिरबाट निस्‍कँदैहुनुहुन्‍थ्‍यो, तब उहाँका चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्‍यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्‍य भवनहरू।”

2येशूले तिनलाई भन्‍नुभयो, “यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्‍काइनेछन्‌।”

3अनि उहाँ मन्‍दिरको सामुन्‍ने जैतून डाँड़ामा बस्‍नुहुँदा पत्रुस, याकूब, यूहन्‍ना र अन्‍द्रियासले उहाँलाई गुप्‍तमा सोधे,

4“हामीलाई भन्‍नुहोस्, यी घटनाहरू कहिले हुनेछन्‌? र यी सब कुरा पूरा हुनका निम्‍ति के चिन्‍ह हुनेछ?”

5येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌।

6धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्‍दै आउनेछन्, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्‌।

7जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्‍ला सुन्‍नेछौ, तब नडराओ। यस्‍ता घटनाहरू हुनु आवश्‍यक छ। तर अन्‍त्‍यको दिन आउनु अझ बाँकी नै छ।

8किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्‍पहरू जानेछन्, अनिकालहरू हुनेछन्‌। योचाहिँ स्‍त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्‍टको आरम्‍भ हो।

9 “तिमीहरू आफ्‍ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्‍पनेछन्‌। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्‍ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ।

10र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ।

11जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्‍यसै बेला जे तिमीहरूलाई दिइन्‍छ, त्‍यही बोल, किनकि बोल्‍ने तिमीहरू होइनौ, तर पवित्र आत्‍मा हुनुहुनेछ।

12 “एउटा भाइले अर्को भाइलाई मृत्‍युको लागि सुम्‍पनेछ, र त्‍यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्‌।

13अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ त्‍यसैको उद्धार हुनेछ।

14 “जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्‍यहीँ उभिएको देख्‍छौ (पढ्‌नेले बुझोस्‌), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।

15घरको कौसीमा हुने तल नओर्लोस्, न त आफ्‍नो घरबाट केही निकाल्‍नलाई भित्र पसोस्‌।

16खेतमा हुने आफ्‍नो खास्‍टो लिन पछाडि नफर्कोस्‌।

17तर हाय, ती दिनमा गर्भवती र दूध खुवाउने आमाहरूलाई!

18त्‍यो हिउँदमा नहोस्‌ भनी प्रार्थना गर।

19किनकि ती दिनहरूमा यस्‍तो महासङ्कष्‍ट आइपर्नेछ कि परमेश्‍वरले गर्नुभएको सृष्‍टिको सुरुदेखि अहिलेसम्‍म न त यस्‍तो भएको छ, न कहिल्‍यै हुनेछ।

20यदि परमेश्‍वरले ती दिन नघटाइदिनुभएको भए त कुनै मानिस बाँच्‍नेथिएन, तर उहाँले चुन्‍नुभएकाहरूका खातिर ती दिन घटाउनुभएको छ।

21त्‍यो बेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्‌’ वा ‘त्‍यहाँ छन्‌’ भन्‍यो भने, तिमीहरू विश्‍वास नगर।

22किनभने झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्‍भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नेछन्‌।

23तर तिमीहरूचाहिँ होशियार रहो। हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु।

24 “तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन,

25ताराहरू आकाशबाट खस्‍नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्‌।

26अनि त्‍यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्‍नेछन्‌।

27तब उसले स्‍वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्‍वीको अन्‍त्‍यदेखि आकाशको अन्‍त्‍यसम्‍म चारै दिशाबाट आफ्‍ना चुनिएकाहरूलाई भेला गर्नेछ।

28 “अञ्‍जीरको रूखबाट पाठ सिक: त्‍यसको हाँगा कमलो भएर पालुवा हाल्‍ने बित्तिकै ग्रीष्‍म ऋतु नजिक आएछ भन्‍ने तिमीहरू थाहा पाउँछौ।

29यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्‍छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्‍ने जान।

30साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा भई नसकूञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।

31स्‍वर्ग र पृथ्‍वी बितिजानेछ, तर मेरा वचन कहिल्‍यै बित्‍नेछैनन्‌।

32 “तर त्‍यस दिन र त्‍यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्‍दैन, न त स्‍वर्गमा हुने स्‍वर्गदूतहरूले न पुत्रले।

33होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्‍यो बेला कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।

34यो त मालिकले आफ्‍ना चाकरहरूलाई घरको प्रत्‍येक काम र दायित्‍वको जिम्‍मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्‍तो हो।

35 “यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्‍दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।

36नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।

37जे म तिमीहरूलाई भन्‍दछु त्‍यो म सबैलाई भन्‍दछु, ‘जागा रहो’।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>